कुल १९०१९८.९४ लाख रुपियाँ धनराशि बिना वहस पारित तथा ११ वटा बीलहरु प्रस्तुत
गान्तोक: १०औं सिक्किम विधानसभाको सातौं सत्रको तेस्रो भाग आज बस्यो। यस एक दिने सत्रमा दुईवटा संशोधनलगायत ११ वटा विधेयक सदनमा पेश गरिनुको साथै वर्ष २०२३-२४को पहिलो अनुपुरक अनुदान माग पनि पारित गरियो। सदनका नेता तथा मुख्यमन्त्री प्रेम सिंह तामाङले राखेको १९०१९८.९४ हजार (१९०१,९८,९४,००० रुपियाँ) रुपियाँको अनुपुरक अनुदान मागलाई सदनले बिनाबहस ध्वनीमतले पारित गरेको छ।
आजको सदनमा पेश गरिएका विधेयकहरूमा सातवटा नयाँ निजी विश्वविद्यालको विधेयक रहेको छ। शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले सदनमा ल्याएका ती विधेयकहरूमा “अर्किड युनिभर्सिटी बील”, “गुरूकूल विद्यापीठ युनिभर्सिटी बील”, “मेट्रिक स्किलटेक यूनिभर्सिटी बील”, “डुक इन्टरनेशनल यूनिभर्सिटी बील”, “सिक्किम मेडिकल साइन्स यूनिभर्सिटी बील”, “म्यानेजमेन्ट एण्ड इनफरमेशन टेक्नलोजी बील” र “रुकमणि द्वारिकाधीश यूनिभर्सिटी अफ् साइन्स एण्ड टेक्नलोजी बील” रह्को छ। यी विधेयकहरूमाथि विधानसभाको आगामी सत्रमा चर्चा अनि मतदान हुनेछ। यसरी नै आजको सदनमा संसदीय मामिला मन्त्री पनि रहेका कुङ्गा निमा लेप्चाले “सिक्किम लेजिसलेटिभ मेम्बर्स (पेमेन्ट अफ् पेन्सन एण्ड मेडिकल अलाउन्सेस), एमेण्डमेन्ड बील”, र “सिक्किम सिभिल कोर्ट्स एमेण्डमेन्ड बील” पनि पेश गरेका छन् भने परिवहन मन्त्री एमएन शेर्पाले “सिक्किम इनलिस्टमेन्ट अफ् सन्ट्रक्शनल मेशनेरिस एण्ड इक्यूपमेन्ट्स बील” र शहरी विकास मन्त्री एलबी दासले “सिक्किम टाउन एण्ड कन्ट्री प्लानिङ बील” सदनमा पेश गरे। यी विधेयकहरूमाथि पनि विधानसभाको आगामी सत्रमा चर्चा अनि मतदान हुनेछ।
आज सदनको कार्यवाही आरम्भ हुन अघि गत ९ फरवरीको दिन स्वर्गवास भएका विधानसभाका पूर्व सदस्य तथा पूर्व मन्त्री शेरबहादुर सुवेदीलाई श्रद्धाञ्जली दिइयो। सदनका सदस्यहरूले मृतात्माको चीर शान्तिको कामना गर्दै दुई मिनटको मौनधारण गऱ्यो भने विधानसभा अध्यक्ष अरुण कुमार उप्रेति, सदनका नेता तथा मुख्यमन्त्री प्रेम सिंह तामाङ, विपक्षी नेता तथा पूर्व मुख्यमन्त्री पवन कुमार चामालिङ र मन्त्री लोकनाथ शर्माले शोक प्रस्तावमा भाग लिँदै स्व. सुवेदीसितको आ-आफ्नो सम्झनाहरू साँझा गरे।

सदन अवधि विधानसभा अध्यक्ष अरुण कुमार उप्रेतीले हालै निर्विरोध राज्यसभा सांसद चुनिएका भाजपा विधायक डीटी लेप्चाले विधायक पदबाट राजीनामा दिएको र त्यसलाई स्विकृत पनि गरिएको जानकारी गराए।