सोनादा: रिङटङ सुनुवार बस्तीमा मिसन एडुकेसनमार्फत् वृद्धाहरुलाई सम्मानका साथ सत्सङ्ग कार्यक्रम सम्पन्न गरिएको छ। आइतबारको दिन मानव उत्थान सेवा समिति खरसाङ तहसिलको तत्वावधानमा तथा मार्ग्रेट्सहोप, रिङटङ शाखाको आयोजनामा मोबाइल भ्यान सत्सङ्ग साथै अन्य कार्यक्रम सुनुवार बस्ती निवासी मन्दा मुखियाको वासगृहको प्राङ्गणमा भक्त समाज एवं जिज्ञासुजनको उपस्थितिमा तथा प्रभारी महात्मा सुषमा बाईजीको प्रयासमा सम्पन्न गरियो। भजन गायक कलाकार राकेश बिकेको संगीत निर्देशनमा भक्ति संगीतको तर्फबाट भजन कीर्तन प्रस्तुत गरियो। त्यसपश्चात प्रमुख अतिथि बाईजीको बाहुलीद्वारा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरियो। समितिद्वारा विश्वव्यापी रूपमा सञ्चालित मिसन एडुकेसन(Mission Education), मेडिसन मिसन(Medicine Mission , हर्बल आयुर्वेदिक औषधि (Herbal Ayurvedic Products) साथै समितिको परिचय राख्दै समितिका युवा संयोजक कुमार योञ्जनले बताए कि भौतिक सुख सम्वृद्धिका साथै आध्यात्मिक उपलब्धि हुन नितान्त आवश्यक छ। अपरा विद्या (Physical Knowledge) – का साथ साथमा परा विद्या (Meta Physical Knowledge) पनि ग्रहण गर्न अत्यावश्यक छ। परा विद्याको चिन्तन मनन निदिध्यासन गर्नाले साधकलाई अन्त:करणमा असीम आनन्द र शान्ति प्राप्त हुन्छ। परा विद्या अर्थात आत्मज्ञानको माध्यमद्वारा ईशानुभूति गर्न सकिन्छ भनी बताए। यस कार्यक्रममा बाईजी साथै तहसिल सचिव अनुराधा सेवाको अगुवाईमा सुनुवार बस्तीका विपन्न नानीहरूलाई मिसन एडुकेसनमार्फत पाठ्य सामग्री प्रदान गरियो साथै वृद्धा माताहरुलाई दोसल्ला ओडाएर साथै केही खाद्य सामग्री पनि प्रदान गरियो। हिल क्विन्स स्कूलका प्राचार्य इन्द्र राईले मुख्य अतिथिको आसनबाट बोल्दै जिन्दगीमा यस किसिमको सत्सङ्ग प्रवचन श्रवण गर्न पाएको प्रथम चोटि हो र यसबाट प्रभावित भएको बताए। उनले यस्तो जीवन कल्याणकारी भजन सत्सङ्ग भविष्यमा पनि सुन्न पाउने मनसाय प्रकट गरे। महात्मा सुष्मा बाईजीले गीता, रामायण, दोमङ तथा अन्य धर्मग्रन्थहरुबाट आत्माज्ञानको सार तत्वको उल्लेख गर्दै उपस्थित जन मानसलाई शास्त्र अध्ययन गर्ने अनि आत्माज्ञानलाई जानेर जीवन उत्थान गर्ने अपिल गरिन्। अनुराधा सेवाले सञ्चालन गरेकी उक्त कार्यक्रममा स्वागत भाषण सम्झना राईले राखिन् भने मानती राईले धन्यवाद ज्ञापन टक्य्राएपछि गुरु वन्दना गरेर कार्यक्रम समापन गरिएको जानकारी प्राप्त भएको छ।