डा. नाम्दुङ कश्यप स्मृति पुरस्कारद्वारा अलङ्कृत

IMG-20240211-WA0235.jpg

गान्तोक: वरिष्ठ साहित्यकार डा. जीवन नाम्दुङ आठौँ तुलसी कश्यप स्मृति पुरस्कारद्वारा अलङ्कृत भएका छन्। आइतवार गान्तोकको डेभलपमेन्ट एरियास्थित नेपाली साहित्य परिषद् भवनमा आयोजित महाकवि तुलसी कश्यपको ८५औँ जन्म जयन्तीको अवसरमा आयोजित पुरस्कार अलङ्करण समारोहमा डा. नाम्दुङलाई नेपाली साहित्य परिषद् एवम् तुलसीराम शर्मा कश्यप प्रतिष्ठान सिक्किमद्वारा उक्त पुरस्कार अलङ्करण गरिएको हो।

प्रतिष्ठानले डा. नाम्दुङलाई उनको “सत्ताइस सालका हाम्रा सात साहित्यकार” नामक कृतिका निम्ति चयन गरेको थियो। समारोहका मुख्य अतिथि लेखक एवम् साहित्यकार सुवास दीपक, सभाध्यक्ष एवम् नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेल, तुलसी कश्यप स्मृति प्रतिष्ठानकी अध्यक्ष हिरालता कश्यप अनि कमल अधिकारीको बाहुलीबाट पुरस्कार अलङ्कृत गरिएको थियो। समारोहमा लेखक, साहित्यकार एवम् पत्रकार सुवास दीपक मुख्य अतिथि रहेका थिए भने नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलले अध्यक्षता गरेका थिए।

आफ्नो सम्बोधनमा मुख्य अतिथि सुवास दीपकले तुलसी कश्यप आफ्नो साहित्यिक गुरु रहेको बताउँदै उनको साहित्यिक योगदानमाथि प्रकाश पारे। उनले कश्यपका महाकाव्यहरू वन्दनीय छन् भन्दै साहित्यिक परम्परालाई नछोड्ने कश्यप एक अनुशासित एवम् लगनशील साहित्यकार रहेको बताए।

पुरस्कार प्रापक डा. नाम्दुङले साहित्य कहिल्यै नमर्ने बताउँदै यस कार्यक्रमबाट आफू तुलसी कश्यप र महानन्द पौड्यालको योगदानबारे थप अपडेट भएको मन्तव्य गरे। उनले नेपाली साहित्यलाई अब सिक्किमले नेतृत्त्व गर्नुपर्ने पनि विचार व्यक्त गरे।

सभाध्यक्ष हरि ढुङ्गेलले सम्पूर्ण कार्यक्रममाथि विश्लेषण गर्दै कश्यप र साहित्यकार सुवास दीपकको योगदानबारे पनि प्रकाश पारे।

पुरस्कार समारोहमा बुर्तुक सरकारी महाविद्यालयकी सहायक प्राध्यापक दीपा शर्माले ‘नेपाली भाषा साहित्यको विकासमा भाषाविद् महानन्द पौड्यालको योगदान’-माथि वार्ता प्रस्तुत गरिन्। वरिष्ठ साहित्यकार एवम् समालोचक डिल्लीप्रसाद अधिकारीले कश्यप स्मृति पुरस्कार र पुरस्कृत व्यक्तिको संक्षिप्त परिचय प्रस्तुत गरे। वरिष्ठ साहित्यकार अभिनारायण मिश्रले पुरस्कृत कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे।

समारोहमा साहित्यकार खुसेन तिम्सिनाको कृति ‘चिन्तनधार’, रमा कोइरालाको ‘प्रतिबोधन’ र टीका ढुङ्गेलको ‘कमलका छायाँहरू’ लोकार्पण गरियो। यस अवसरमा कश्यप काव्यबाट कवि सीता शर्मा र अम्बिका अधिकारीले कविता वाचन गरेका थिए भने मोहन गौतमले स्वरचित कविता प्रस्तुत गरे।

समारोहमा परिषद्की उपाध्यक्ष भक्ति बस्नेतले स्वागत सम्बोधन अनि प्रशासनिक सचिव रत्न लक्समले अतिथिहरूप्रति आभार व्यक्त गरेकी थिइन्। समारोहलाई परिषद्की कार्यकारी सदस्य श्रीमती उषा शर्माले सञ्चालन गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *