खरसाङ: महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले इण्डियन फूटबल एसोसिएशन (आईएफए)-को मार्गदर्शनमा आयोजन गरेको आईएफए शील्ड गोर्खा चेली फूटबल टुर्नामेण्टमा सिक्किमले सेमिफाइनलमा स्थान बनायो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को विशेष सहयोगमा उत्तर बंगालकै सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा खेलिएको उद्घाटन म्याचमा आइतवार सिक्किमले जीटीए एकादशलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिमरन गुरुङले मध्यान्तरअघि नै २ गोल गरिन्। त्यसपछि दोस्रो हाफमा डिछेम लेप्चाले अझ एक गोल गरी सिक्किमको टीमलाई ३-०-ले जीत दिलाइन्। सिमरन गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। आज उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा जीटीए चेयरम्यान अञ्जुल चौहान उपस्थित थिए। अब सोमवार खेलिने म्याचमा तमिलनाडु पुलिस र एसएसबी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा आठवटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल १५ र १६ फरवरीमा हुनेछ। यसरी फाइनल १८ फरवरीमा खेलिनेछ। आयोजक केएफए-का महासचिव सुदीप राईले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।