३० जुलाईः न्यूजील्याण्डले एडिनबर्गको मैदानमा शुक्रवार आफ्नो टी२० इतिहासको सबैभन्दा ठूलो स्कोर बनायो। स्कटल्याण्डको अनुभवहीन बलिंग आक्रमणसँग खेलाँची गर्दै न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बटुल्यो। टी२० अन्तर्राष्ट्रियमा यो न्यूजील्याण्डको सर्वाधिक स्कोर हो। यसअघि कीवि टीमले वेष्ट इण्डिज विरुद्ध ५ विकेटमा २४३ रन बटुलेको थियो। यसरी नै अष्ट्रेलिया विरुद्ध पनि टीमले ६ विकेटमा २४३ रन बनाएको थियो। टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोरको रेकर्ड अफगानिस्तानको नाममा रहेको छ। अफगानिस्तानले २०१९-मा आयरल्याण्ड विरुद्ध ३ विकेटमा २७८ रन बनाएको थियो।

यसरी नै अष्ट्रेलियाले २०१६-मा श्रीलंका विरुद्ध ३ विकेटमा २६३ रन बनाएको थियो। समग्रमा न्यूजील्याण्डले बनाएको २५४ रन टी२० अन्तर्राष्ट्रियमा पाँचौं सर्वाधिक स्कोर हो। भारतले पनि २०१७-मा श्रीलंका विरुद्ध ५ विकेटमा २६० रन बनाएको थियो।

न्यूजील्याण्डको तर्फबाट म्याचमा मार्क चापम्यानले ४४ बलमा ७ वटा छक्का र ५ वटा चौकाको सहायताले सर्वाधिक ८३ रन बनाए। यसबाहेक माइकल ब्रेसवेलले २५ बलमा ३ वटा छक्का र ८ वटा चौकाको सहायताले ६१ र जेम्स नीशमले १२ बलमा ३ वटा छक्का र एउटा चौकाको सहायताले अविजित २८ रन बनाए। ड्यारल मिचेलले पनि ३ वटा छक्काको सहायताले १९ बलमा ३१ रन बनाए। म्याचमा न्यूजील्याण्डका ब्याटरहरूले जम्मा १७ वटा छक्का लगाए। जवाफमा स्कटल्याण्डको टीमले २० ओभरमा ९ विकेट गुमाएर १५२ रन मात्र बटुल्न सक्दा न्यूजील्याण्ड १०२ रनको ठूलो अन्तरले विजयी भयो। स्कटल्याण्डबाट क्रिस ग्रिव्सले सर्वाधिक ३७ रन बनाए। चापम्यानलाई प्लेयर अव् द म्याच चयन गरियो।










