खरसाङ: ‘बन्धकी राखेको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘आगो लागेको क्षितिज’, ‘शीर्षकविहीन’, ‘रातो सूर्यको अपहरण’, ‘अग्निशिखा’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’जस्ता दर्जनौं कलात्मक नाटकहरु प्रदर्शन गरेर सत्तरदेखि नब्बेको दशकको अन्त्यसम्म नाटकको क्षेत्रमा हलचल मच्चाउने खरसाङको जागृति परिवार अब स्वर्ण जयन्तीको दिशामा प्रवेश गरेको छl २९ जुलाई १९७३मा स्थापित भएको नाट्य संस्था जागृति परिवारले ४९ वर्ष पुरा गरेर अब ५० वर्षमा पाइला टेकेको छl
शुक्रबार २९ जुलाईको दिन जागृति परिवारको ४९औं स्थापना दिवस निजी भवनमा पालन गरियोl परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक एवं सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’लगायत पुराना सदस्यहरुको विशेष उपस्थिति रहेको थियोl कार्यक्रमको प्रारम्भमा माता सरस्वतीको तस्वीरमा दियो बालेर शुभारम्भ गरियो भने परिवारका स्वर्गीय सदस्यहरुलाई श्रद्धाञ्जली गर्न एक मिनट मौन धारण गरियोl परिवारका सचिव राजेन थापाले संचालन गरेको कार्यक्रममा ४९ वर्ष पुगेर स्वर्ण वर्षमा प्रवेश गरेको खुशीमा केक काटियोl नाटककार पूर्ण गुरुङ ‘निरुपम’ले जागृति परिवारको स्थापना, नाटकका क्षेत्रहरुमा गरेका कार्यहरु र सङ्घर्षहरुलाई आफ्नो वक्तव्यमा प्रस्तुत गरेl परिवारका अध्यक्ष खेमराज राईले स्वयं एकजना नाट्य कलाकार भएका हुनाले पुराना दिनहरुलाई स्मरण गर्दै रोचक वक्तव्य प्रस्तुत गरेl
कार्यक्रमपछि भएको सभामा आउँदो वर्ष २०२३ मा जागृति परिवारको ५० वर्ष पूरा हुने भएको हुनाले स्वर्ण जयन्ती पालन गर्ने बारेमा विचारविमर्श गरियोl यसको निम्ति आउँदो महिना ६ अगस्तको दिन परिवारको सभा हुनेछ र त्यसै सभामा एउटा समिति गठन गरिने भएको छl सोही सभामा स्वर्ण वर्षको कार्यक्रम बारे छलफल गरिनेछl नयाँ युवा कालाकारहरुलाई नाट्य क्षेत्रमा प्रोत्साहित गर्न जागृति परिवारएले सदस्यको रुपमा समावेश गर्ने भएको छl










