३० जुलाईः कप्तान रोहित शर्मा (६४)-को अर्द्धशतक अनि प्लेयर अव् द म्याच रहने दिनेश कार्तिक (अविजित ४१)-को उत्कृष्ट ब्याटिंगपछि स्पिनरहरूका प्रभावशाली प्रदर्शनको दममा भारतले पहिलो टी२० अन्तर्राष्ट्रिय म्याचमा वेष्ट इण्डिजलाई ६८ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले पाँचवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। टीम इण्डियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९० रनको दह्रिलो स्कोर बनायो।

जवाफमा वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो। भारतको तर्फबाट पेस बलर अर्शदीप सिंहको साथमा स्पिनरद्वय रविचन्द्रन अश्विन र रवि विश्नोईले २-२ विकेट लिए। त्रिनिदादको ब्रायन लारा स्टेडियममा टस जितेर वेष्ट इण्डिजका कप्तान निकोलस पूरनले पहिला बलिंग गर्ने फसेला गरे। कप्तान रोहितसँग पहिलोपल्ट ओपनिंग गर्न ओर्लिएका सूर्यकुमार यादवले टीमलाई तेज शुरुवात दिलाए तर १६ बलमा २४ रन बनाएर चाँड़ै आउट पनि भए। भारतले सूर्यकुमार र श्रेयस अय्यर (०)-को विकेट लगातार ओभरमा गुमायो। त्यहाँबाट रोहितले रिषभ पन्त (१४) र हार्दिक पाण्ड्या (१)-सँग ससाना साझेदारी गर्दै आफ्नो अर्द्धशतक पूरा गरे। रोहित १५औं ओभरमा जेसन होल्डरको बलमा आउट भए। उनले ४४ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाए। रविन्द्र जडेजा १६ रन बनाएर पभेलियन फर्किए। १६औं ओभरको अन्तमा टीमको स्कोर १३८ रहेको थियो। त्यहाँदेखि दिनेश कार्तिकले रविचन्द्रन अश्विन (अविजित १३)-सँग मिलेर अन्तिम ओभरहरूमा तेजीको साथ रन बटुले। यी दुईले सातौं विकेटको निम्ति २५ बलमा ५२ रनको अटूट साझेदारी गरी भारतलाई १९०-को स्कोरसम्म पुऱ्याए। कार्तिकले १९ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। क्यारेबियन बलरहरूमा अल्जारी जोसेफले सर्वाधिक २ विकेट लिए।

चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। यसैकारण टीम २० ओभरमा १२२-को स्कोरमा अल्झियो। वेष्ट इण्डिजबाट शामराह ब्रूक्सले सर्वाधिक २० रन बनाए। यसबाहेक कप्तान निकोलस पूरनले १८ र काइल मेयर्सले १५ रनको योगदान दिए। शिमरोन हेटमायर र रोवम्यान पावेल १४-१४ रन बनाएर आउट भए।










