खरसाङ: कवि एवं चित्रकार सविता गोम्देनको तेस्रो पुण्यतिथिको अवसरमा सालबारीस्थित गोम्देन टि-बारको सविता गोम्देन साहित्य कक्षमा एक श्रद्धाञ्जली अर्पण कार्यक्रम शब्द समयको एकाइद्वारा आयोजना गरियो। कार्यक्रममा कवि-चित्रकार सविता गोम्देनका कृति र कर्मलाई सम्झना गरियो। प्रथममा सविता गोम्देनको तस्वीर अघि वरिष्ठ कवि-समालोचक अनि उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय बान्तवा अनि वरिष्ठ कवि-कथाकार भविलाल लामिछानेको बाहुलीबाट धूप-दीप प्रज्ज्वलित गरियो अनि तस्वीरमा खदा अर्पण गरेर श्रद्धा जनाइयो। यसै क्रममा उपस्थित सबैले श्रद्धासुमन अर्पण गरे। त्यसपछि देहले मात्र हामीबाट बिछोडिएकी सविता गोम्देनको नाममा उनको आत्मशान्तिको प्रार्थना गर्दै एक मिनटको मौन धारण गरियो। यस अवसरमा विशिष्ट कवि-कथाकार मोहन ठकुरी, वरिष्ठ साहित्यकार एवं राजनैतिक चिन्तक डी. एस. बमजन, युग्मककार कालूसिंह रनपहेँली, आख्यानकार मणिकुमार प्रधान, अवकाशप्राप्त डीएसपी एवं कवि निर्मल सिन्चुरी, कथाकार-अनुवादक जीतबहादुर सुनार, अवकाशप्राप्त पुलिस अधिकारी एवं कवि पूर्ण मंगर, एस.टी.भूटिया, सविता गोम्देनकी नातिनी चित्रकार ओलेना गोम्देन आदि उपस्थित थिए। वरिष्ठ कवि-कथाकार भविलाल लामिछानेले आफ्नो सम्बोधनमा भने, शब्द समयका प्रकरणहरूमा सविता गोम्देनको उपस्थिति हामी पाउँदथियौं। उनी साहित्य लेखनको धेरै सक्रीय थिइन्। वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडाले सविता गोम्देनलाई कवि साथै चित्रकारका रूपमा चिनाए। अध्येता खतिवडा बताइरहेका थिए सविता गोम्देनको हात कविताभन्दा बढी चित्रकारितामा प्रखर थियो। उनले बम्बईबाट फाइन आर्ट्समा डिप्लोमा गरेकी थिइन्। अध्येता खतिवडाले सविता गोम्देनका कविता र चित्रकलाको पृष्ठभूमि बौद्ध दर्शनमा आधारित रहेको बताए। कवि खतिवडा बताइरहेका थिए चित्रकार सविता गोम्देनले आफ्नो चित्रकलाको असर आफ्नी नातिनी ओलेनामा पनि छाडेकी छ्न्। आज गोम्देन टी बारमा सविता गोम्देनका चित्रकलाहरूसितै ओलेनाद्वारा भित्ताहरूमा अङ्कित चित्रहरू हेरेर हामी दङ्ग पर्छौं। कार्यक्रममा युग्मककार कालूसिंह रनपहेँलीले सविता गोम्देनको अङ्ग्रेजी भाषामा लेखिएको कृति लज् अव् नेचर(Laws of Nature)-लाई विद्वान साहित्यकार गोकुल सिन्हाद्वारा अनुवाद गरिएको कृति ‘प्रकृतिका नियम’-बाट ‘मानवजाति यस घडी दोबाटोमा उभिएको छ’ शीर्षकको कविता वाचन गरे। १ जून १९५३ मा दार्जिलिङमा जन्मेकी सविता गोम्देनको निधन ८ फरवरी २०२१ को दिन सिलगढीमा भएको थियो। कार्यक्रमलाई शैलेन्द्र छेत्रीद्वारा सञ्चालन गरिएको थियो।