युरोपमा फेला परेको काँस्य युगको सबैभन्दा ठूलो सुनको भण्डार मध्येको एक ‘ट्रेजर अफ भिलेना’ को बारेमा विशेष समाचार आएको छ। यो खजानामा सुन, चाँदी, फलाम र एम्बरबाट बनेका ५९ बहुमूल्य वस्तुहरू छन्। पछिल्लो विश्लेषणले यो खजानामा पाइने धातुहरु पृथ्वी बाहिरबाट आएको खुलासा भएको छ। ट्राबाजोस डे प्रिहिस्टोरिया जर्नलमा प्रकाशित नयाँ अनुसन्धानले सुझाव दिएअनुसार, दुईवटा कलाकृतिहरू धातु प्रयोग गरेर बनाइएको थियो जुन हाम्रो ग्रहमा लगभग १० लाख मिलियन वर्षअघि ठोकिएको उल्कापिण्डबाट आएको थियो। स्पेनी अखबार एल पेसका अनुसार, यस विश्लेषणमा फलामका दुई टुक्राहरू अध्ययन गरिएको थियोl सुनको पातले ढाकिएको खोक्रो सी आकारको ब्रेसलेट र खुला ब्रेसलेट, यी दुवैको अवधि १४ सय देखि १२ सय ईसापूर्वको बीचमा छ। ध्यान दिनुपर्ने कुरा यस्तो छ, यो समय फलाम युगको शुरु हुनु भन्दा पहिलेको थियो।
लाइभ साइन्सका अनुसार, यस अध्ययनका वरिष्ठ लेखक इग्नासियो मोन्टेइरो रुइजले भने, ‘सुन र फलामको सम्बन्ध महत्त्वपूर्ण छ, किनभने दुवै तत्वको ठूलो प्रतीकात्मक र सामाजिक मूल्य छ। यस अवस्थामा, कलाकृतिहरू सम्भवतः लुकेको खजाना थियो, जुन कुनै एक व्यक्तिको होइन तर सम्पूर्ण समुदायको हुनसक्छ। यस ऐतिहासिक अवधिमा इबेरियन प्रायद्वीपमा कुनै राज्य थिएन।’ अन्वेषकहरूले यस अध्ययनमा धातुमा मास स्पेक्ट्रोमेट्री प्रयोग गरे र फलाम-निकेल मिश्र धातुको निशान उल्कापिण्ड फलाममा पाइने ट्रेसहरू बराबर रहेको पत्ता लगाए। रुइजका अनुसार, सुन र चाँदी जस्ता महान धातुहरूका लागि प्रयोग गरिएको तामामा आधारित धातु विज्ञान भन्दा फलामको काममा पूर्णतया फरक प्रविधि प्रयोग गरिएको थियो। यसको अर्थ उल्का फलामसँग काम गर्ने मानिसहरूले नयाँ प्रविधि आविष्कार र विकास गर्नुपरेको थियो। अध्ययनमा अन्वेषकहरूले दावी गरे कि यी इबेरियन प्रायद्वीपमा पाइने पहिलो र सबैभन्दा पुरानो उल्का पिण्डहरू हुन्, तर तिनीहरूले ती वस्तुहरू कसले बनाए र तिनीहरू कहाँबाट आएका हुन् भन्ने पुष्टि गर्न सकेका छैनन्।