प्रेम दिवसको नाममा विसंगती

Designing Zone - 2

काठमाडौं: पश्चिमा देशबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिंदै गएको छ। भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ। विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ। अंग्रेजी क्यालेण्डरअन्तर्गत ७ फरवरीदेखि १४ फरवरी अर्थात प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ। आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान पर्वका रुपमा स्विकार्न थालेका छन्।

तेस्रो शताब्दीमा रोमका सैनिकहरु माथि त्यहाँका सैन्य प्रमुखले अघोषीत रुपमा विवाहमा प्रतिवन्ध लगाएपछि एक सैनिकले विद्रोह स्वरुप प्रेम विवाह गरेको प्रसंगसँग भ्यालेन्टाइन डेको इतिहास गाँसिएको छ। क्लाउडियसका पादरीले ति जोडीको विवाह जुराइदिएपछि उनै पादरीको नाम भ्यालेन्टाइनबाट यस दिनको शुरुवाती भएको इतिहास छ। भ्यालेन्टाइन पादरीको हत्या भएपछि त्यही दिनबाट भ्यालेन्टाइन डेको परम्परा वसेको इतिहासहरु पढन पाइन्छ। भ्यालेन्टाइनको हत्या पछि त्यो दिन विश्वभरका युवाहरुका निम्ति प्रेमको विजयी भएको दिनका रुपमा मनाउने परम्परा वसेको मान्यता कायम छ। रोमबाट फैलिएको उक्त प्रचलन नेपालीमा समाजमा झाँगिदै गएको हो।

यद्यपी, यो दिवसको इतिहास जति रोचक र भावुक छ त्यक्ति नै आलोचित पनि बन्दै गइरहेको छ। इतिहास महान भएपनि आधुनिकताको नाममा छाडापन भित्रिएको छ। विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणहरुलाई छायामा राखेर बर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन्। प्रेमवादी गायक थिरज राई भन्छन्, ‘हाम्रो समाजले प्रेमलाई केटा–केटी बीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रुपमा स्विकार्दै आएको छ, यो विल्कुलै गलत छ। ‘आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान र श्रीमतिबीचको प्रेम, साथी साथीबीचको प्रेमी र पे्रमिकाबीचको प्रेम  पनि प्रेम नै हो जहाँ आत्मियता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान बन्छ,’ उनले भने। प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ। त्यसैले संसारको सर्वोत्तम बस्तु नै प्रेम हो। तर यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेकोमा लेखक लाओस राई असन्तुष्टी जनाउँछन्। उनी भन्छन्,‘समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ। प्रणय दिवसलाई वैंशले उन्माद भएका कतिपय युवायुवतीहरुले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् यस्तो गर्नु सरासर गलत हो।’

रंगकर्मी राज शाहको विचार अलिक फरक छ। उनको विचारमा रोमियो जुलियट, ममताज र शाहाजन, लैला मैजुनको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको आदर्श प्रेम हो। तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आइरहेको छ। अरुप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ। उनी भन्छन्, ‘मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो त्यक्ति नै त्याग थियो भोटेको प्रेममा पनि पाइन्छ। तर समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रतिको प्रेमलाई महत्व दिएन।’ कतिपयले प्रेमलाई गलत रुपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन्। उपहार आदनप्रदानका कारण प्रेम भड्किलो र महंगो बन्दै गएको छ। प्रेमस्वरुप कसैले कसैलाई उपहार दिन्छन्। उपहार सबैले सबैलाई दिन मिल्छ। प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ। प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको फूल आदानप्रदानको संकुचित मान्यता मात्र राख्दैन।  भ्रम यसमा छ–भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्चय पाउँछन्। त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा नेपाली समाजमा असन्तुष्टी बढेको पाइन्छ।

‘प्रेम दिवस केटा–केटीवीचको माया र प्रेम साटने माध्यम मात्र ठान्नु गलत हो।’ कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्राउँछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव ठानिएको छ।

आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न कुनै अवसर आवश्यक त पर्दैन्। तर पनि माध्यम अवश्य आवश्यक छ। पहिले पहिले प्रेम प्रस्ताव राख्न बिहेबटुल, रत्यौली, मेलामा मन परेको व्यक्तिलाई सिधै प्रस्ताव राखिन्थ्यो। तर अब समय बदलिएको छ। इन्टरनेट तथा डिजिटल प्रविधिदेखि ठूला सपिङ मलसम्म पाइने उपहारले प्रेम प्रस्ताव गर्न सहज बनाएको छ। इन्टरनेटको सहायताले युवा–युवतीलाई उपहार आदनप्रदान गर्न कठिन छैन्। एकदशक यता नेपालमा सामाजिक सञ्जालले प्रेम प्रस्ताव गर्न र उपहार आदनप्रदान गर्न सजिलो बनाइदिएको छ।

आफ्नो सामाजिक सञ्जालमा ग्रिटिङ कार्ड सजाएर आफूलाई मन परेको व्यक्तिलाई प्रेमका भावना अभिव्यक्ति गर्न थालिसकेका छन्। हिजोआज युवा पुस्ता फेसबुक, ट्वीटर, मिग, गुगल प्लस लगायतका सञ्जाल मार्फत उपहार प्रदान गर्ने गर्छन्। प्रेम दिवस प्रस्तावका लागि उपयुक्त दिन मान्ने युवाहरुको संख्या बढ्दो छ। तर प्रेम अभिव्यक्त गर्न सामाजिक सञ्जाल भन्दा पनी बजारमा पाइने गिफ्ट आइटमहरु नै प्रभावकारी बन्ने गरेको युवाहरु सुनाउने गर्छन्। पहिले पहिले सामाजिक सञ्जाल र गिफ्ट आइटमहरु नहुँदा कागजको पानामा रगतले लेखेर आफ्नो भावना व्यक्त गरिन्थ्यो त्यो धेरै प्रभावकारी थियो। तर हाल आएर गिफ्टहरु नै प्रेमलाई प्रगाढ बनाउने माध्यम भएका छन्। आधुनिक प्रविधि र बदलिंदो सामाजिक परिवेशले प्रेम दिवसको जुन महत्व र सान्दर्भिकता हुनुपर्ने त्यस्तो नभइ बिसंगतीहरु बढेकोमा भने धेरैले चिन्ता व्यक्त गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement