सन्देशखालीमा धारा १४४ लागू

cg-police.jpg

काेलकाता: उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा गए शुक्रवार भएको तोड़फोड़ अनि हिंसाका घटनाहरूलाई मध्यनजर गर्दै धारा १४४ लागू गरिएको छ। शनिवार जिल्ला पुलिस अधिकारीले यसको पुष्टि गर्दै भने, हिजो अबेर राती जारी जिल्लाधिकारीको आदेश अनुरूप यो निर्णय लिइएको हो।

एक दिनअघि स्थानीय महिलाहरूले सन्देशखालीका बाहुबली तृणमूल नेता शेख शाहजहाँको पोल्ट्री फार्ममा आगो झोसिदिएका थिए। यसको साथै शाहजहाँका सहयोगीद्वय तृणमूल नेताहरू शिबु हाजरा र उत्तम सरदारलाई पक्राउ गर्नुपर्ने मागमा महिलाहरू निरन्तर सड़कमा उत्रिरहेका छन्। बितेको बिहीवार र शुक्रवार यस क्षेत्रमा व्यापक विरोध प्रदर्शन भएको थियो। आरोप छ, विरोध गरिरहेका महिलाहरूमाथि शिबु हाजराका मानिसहरूले प्रहार गर्ने प्रयास गरे। कुनै पनि प्रकारको झड़पलाई रोक्न तथा स्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले धारा १४४ लागू गरिएको छ। यस सन्दर्भमा मुख्यमन्त्री ममता ब्नर्जीले चर्को रोष व्यक्त गर्दै राज्य सचिवालबाट सोझै जिल्लाधिकारीलाई निर्देश दिएकी थिइन्। त्यसपछि अबेर राती नै धारा १४४ लागू गर्ने निर्णय लिइयो।

डीजी एससीआरबी सिद्धिनाथ गुप्ता, आईजी प्रशासन एसआर झाँझरिया, डीआईजी बारासात सुमित कुमार, एसपी बशीरहाट समेत विभिन्न जिल्लाका पुलिस अधिकारीहरूले हिंसाग्रस्त सन्देशखालीको दौड़ाह गरिसकेका छन्। राज्य पुलिसका एडीजी (कानून-व्यवस्था) मनोज वर्माले गए शुक्रवार एक संवाददाता सम्मेलनमा भने, स्थिति नियन्त्रणमा छ। अशान्ति फैलाउनेहरूमाथि कारबाही गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement