गान्तोक। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका वरिष्ठ नेता एवम् पूर्व मन्त्री शेरबहादुर सुबेदीको शुक्रवार बिहान निधन भएको छ। एसएनटी विभागको नोकरी त्यागेर एसडीएफ पार्टीबाट राजनीतिक जीवन आरम्भ गरेका स्वर्गीय सुवेदीले तीनपल्ट मन्त्रीका रूपमा राज्यवासीको सेवा गरे।
उनले यातायात विभाग (१९९९-२००४), वन विभाग (२००४-२००९) र ग्रामीण प्रबन्धन विकास विभाग (२०१४-२०१९)-मा मन्त्री रहेर सिक्किम र सिक्किमेली जनताको सेवा पुऱ्याएका थिए।
आज इन्दिराबाईपास्थित एसडीएफ पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा शोक सभाको ओयजना गरी स्वर्गीय सुवेदीलाई एसडीएफ परिवारले श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँको आत्माको परम मुक्तिको कामना र शोकसन्तप्त परिवारलाई यस दुःखद घडीमा ईश्वरले सहन सक्ने अपार क्षमता प्रदान गरुन् भन्ने प्रार्थानसहित दुई मिनटको मौनधारण गरिएको एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
शोकसभामा एसबी सुवेदीलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टी अध्यक्ष चामलिङले एसडीएफ पार्टीका वरिष्ठ नेता एसबी सुवेदीको दुःखद निधनको खबरले आफूलाई स्तब्ध तुयाएको बताए। उनले हामीले बितेर जानेहरूबाट शिक्षा लिनुपर्छ भन्दै स्वर्गीय सुवेदीले ६६ वर्षको जीवन यात्रा समाप्त गरेर यस संसारबाट विदा लिएको बताए।
उनले भने, उहाँले आफ्नो जीवनको कथा, व्यथा, दुःख, सुख जति भोगे पनि राजनीतिक जीवन एसडीएफ पार्टीबाट शुरु गर्नुभयो। अनि जीवनको अन्त्य पनि एसडीएफ पार्टी मै भयो। यो उहाँको सबैभन्दा ठुलो सैद्धान्तिक अडान हो। उनले स्वर्गीय सुवेदीको सम्झना गर्दै एसबी सुवेदीको एसडीएफ पार्टी र सिक्किमको राजनीतिमा योगदान अतुलनीय रहेको बताए।
उनले अघि भने, एसडीएफ पार्टी गठन हुनअघि एसएनटी विभागमा कार्यरत रहनु भएका श्री सुवेदीले सरकारी नोकरी त्यागेर सिक्किमेली जनताका निम्ति राजनीतिमा आउनु भएको थियो। श्री सुवेदीले आगो छुएर एसडीएफ पार्टीको नीति-सिद्धान्त र उद्देश्यमा अडिग रहने कसम खानु भएको थियो। श्री सुवेदीको कसम आगोजस्तै सत्य बन्यो। उहाँको ईमान्दारिता, एसडीएफ पार्टीको उद्देश्यप्रतिको निष्ठता, विकासपरक योजनाप्रतिको प्रतिवद्धता उल्लेखनीय रहेको छ।
स्वर्गीय एसबी सुवेदीका पत्नी, छोरा-बुहारी, छोरी तथा नाता-नातिनीहरूप्रति गहिरो समवोदना व्यक्त गर्दै एसडीएफ अध्यक्ष चामलिङले आफू अनि एसडीएफ परिवार उहाँहरूको साथमा सदैव रहेको आवगत गराए। यसका साथै स्वर्गीय सुवेदीको योगदानमा आधारित जीवनी पुस्तक लेखेर पार्टीले प्रकाशन गर्ने पनि उनले जानकारी गराए।









