गान्तोक: सोरेङ-च्याखुङ समष्टिको समष्टि स्तरीय सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सेवानिवृत्त सरकारी कर्मचारी प्रकोष्ठको समन्वयक सभा सोरेङ भीरडाँडास्थित बीके हाउसमा सम्पन्न भयो। सभामा क्षमता विकास बोर्डका अध्यक्ष राजेन बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित थिए। समन्वयक सभाको औचित्य बारेमा प्रकाश पार्दै सत्तारूढ एसकेएम पार्टीका भातृ संगठन अवकाश प्राप्त सरकारी कर्मचारी प्रकोष्ठका सोरेङ जिल्ला स्तरीय संयोजक केबी भण्डारीले यो प्रकोष्ठ सत्तारूढ एसकेएम पार्टीको एउटा मुख्य अङ्ग भएकोले गर्दा प्रकोष्ठका प्रत्येक सदस्यहरुले सरकारले कार्यान्वयन गरेका विकासमूलक योजना र जनकल्याणकारी कार्यक्रमलाई जनजनसम्म पुर्याउन दाहित्व निर्वाह गर्नुपर्ने उनले अपिल गरे। सिक्किम शिक्षक संघका पूर्व अध्यक्ष समेत रहिसकेका संयोजक भण्डारीले वर्तमान मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको एसकेएम सरकारले सेवानिवृत्त कर्मचारीमा हितमा उल्लेखनीय कार्य गरिरहेको बताए।
संयोजक भण्डारीले अघि भने, एसकेएम सरकारले सिक्किम राज्य र सिक्किमेली जनताको समुचित हितमा कार्य गरेको छ। सरकारले सेवानिवृत्त सरकारी कर्मचारीहरुको धेरैवटा मागलाई सम्बोधन गरिसकेको छ। रहल मागहरु पनि मुख्यमन्त्रीले पूरा गरिदिने आश्वासन दिइसकेको छ। अवकाशप्राप्त सरकार कर्मचारीहरुको निम्ति राजधानी गान्तोकमा मात्रै भवनको सुविधा नगरेर अब जिल्ला-जिल्लामा पनि भवन निर्माण गर्ने उदेश्य लिएर प्रकोष्ठले काम गरिरहेको भण्डारीले बताए।
सम्बोधन गर्ने क्रममा मुख्य अतिथि क्षमता विकास बोर्डका अध्यक्ष राजेन बस्नेतले नवगठित प्रकोष्ठका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै सेवानिवृत्त सरकारी कर्मचारीहरुको समाजका मार्गदर्शक सँगसँगै नागरिक समाजका बौद्धिक प्रतिनिधि भएको हुँदा पार्टीलाई ठूलो सेवा र टेवा पुग्ने उनले अवगत गराए। अध्यक्ष बस्नेतले अवकाशप्राप्त सरकारी कर्मचारीहरुले सरकारसँग परस्पर सम्बन्ध राखेर काम गर्नसके राज्यको विकासमा धेरै फाइदा जानकारी गराए।