बागौंडा: आज भूतपूर्व हवल्दार प्रताप थापाको संयोजकत्वमा बागौंडा सार्वजनिक भवन, खरसाङ महकुमामा ६/८ जीआरका अवकाशप्राप्त अधिकारीगण एवं सैनिकवर्गको उपस्थितिमा ६/८ जीआरको ७६औं स्थापना दिवस भव्यताका साथ पालन गरियो। कार्यक्रम सुवेदार दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने कार्यक्रममा अनरेरी कप्तान अल्बड लेप्चा, बलिन्द्र ब्लोन, नायक किशोर दियाली, अनरेरी कप्तानहरु क्रमैले श्यामध्वोज तामाङ, दिलु गुरुङ, अमर गुरुङ, नायक सुबेदार नरेश कुमार गुरुङ, पाल्देन शेर्पा, अशोक गिरी, दिपकुमार थापा, हवल्दार गंगा बहादुर थापाको विशेष उपस्थिति रहेको थियो।
सन् १९४८ मा स्थापना भएको ६१८ जीआर पल्टनका अवकाशप्राप्त सैनिक वर्गको हितको निम्ति भूपू० हवल्दार प्रताप थापाको अथक प्रयासबाट बागौंडा भेकका अवकाशप्राप्त वृद्ध सैनिकहरुको सहयोगमा यो स्थापना दिवस’ पालन सम्पन्न गरियो। यसको साथै यस समूहलाई लिएर पल्टनको एउटा छुट्टै’ भूतपूर्व सैनिक संगठन खोल्ने विशेष उद्देश्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा अध्यक्षलगायत उपस्थित पूर्वसैनिक साथै पदाधिकारी वर्गद्वारा सामुहिकरुपमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको आरम्भ गरियो। कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्दै विभिन्न रंगारंग कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो। कार्यक्रममा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिकलगायत विभिन्न स्थानहरूबाट ६/८ जीआरका पूर्व सैनिकहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको यसै अवसरमा सर्वसम्मत जी०आरएका पूर्व सैनिकहरूको एक संगठन खोलेर यसलाई यसै पल्टनका पूर्व सैनिकहरूको हक र हितको जगेर्ना एवं दुःख सुखमा सहयोग गर्नहेतु निरन्तरता दिएर विकास र प्रगति गर्दै लैजाने सबैले आफ्नो मन्तव्य राखे। स्थापना दिवसको यसै अवसरमा संगठनको अध्यक्षको पदभार अननेरी कप्तान टेकबहादुर गुरुङ, महासचिवको पदमा पूर्व हवल्दार प्रताप थापा, कोषाध्यक्षको पदमा पूर्व अनरेरी कप्तान कृष्णराज हवल्दार रतन गुरुङ चयन गरियो भने जम्मा २३ जनाको कार्यकारिणी समितिको गठन पनि गरियो।