एसकेएमले गऱ्यो भाइचुङ भोटियाले लगाएका आरोपहरूको खण्डन

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेता भाइचुङ भोटियाले लगाएका आरोपहरू आधारहीन र अपरिपक्व रहेको बताउॅंदै एसकेएम पार्टीले खण्डन गरेको छ। भोटियाले हिजो एक पत्रकार सम्मेलनमा एसकेएम सरकारमाथि ग्रेटर सिक्किमको निम्ति काम गरिरहेको, जनाधार नरहेको, बाहिरका मानिसहरूलाई मतदाता बनाएको आदि आरोपहरू लगाएका थिए।

एसकेएम प्रचार प्रसार महासचिव कृष्ण लेप्चाले आज जारी एक प्रेस विज्ञप्तिमा भाइचुङ भोटियाले लगाएका आरोपहरूको खण्डन गर्दै भोटियाले अनुभवहीन कुरा गरेर जगहँसाई गरेको बताएका छन्। आफ्नो पार्टी समेत सम्हाल्न नसकेर पार्टीलाई नै एसडीएफमा समर्पण गरी आफू पनि उतै हामफाल्ने भाइचुङले एसकेएम पार्टीमा जनाधार नै नरहेको भन्दै आधारहीन तथा अपरिपक्व कुरा गरेको बताएका छन्।

उनले आरोप लगाउॅंदै भनेका छन्, राजनीतिको माध्यमबाट सम्पत्ति कमाउन खोज्ने र आफ्नो पहिचान पत्र समेत सारेर पश्चिम बङ्गालको मतदाता बन्ने भाइचुङले आज आएर डाँडाको घाम बनेको एसडीएफको मञ्चबाट सिक्किमको हितमा कुरा गर्नु पटक्कै नसुहाउने कुरा हो। सिक्किममा पाँच वर्षको अवधिमा राज्य बाहिरबाट कुन्नि कति मान्छे ल्याएर मतदाता बनाएको छ भन्ने बगम्फुसे कुरा गरी भाइचुङ भोटियाले आफ्नो व्यवहार कस्तो छ, अरूलाई पनि त्यस्तै देख्छ भन्ने उक्तिलाई चरितार्थ गरेका छन्।

उनले अझ भनेका छन्, विगत २०१९ को चुनाउअघि मुख्यमन्त्री प्रेमसिंह तामाङ भोटमा उठ्न नपाउने, पञ्चायतसम्म बन्न नसक्ने भनी बयान दिने एसडीएफ नाइके पवन चामलिङकै शैलीमा आज फेरि भाइचुङ बोल्दैछन्। पञ्चायतसम्म बन्न नसक्ने भनिएका व्यक्ति आज मुख्यमन्त्री बनेर पाँच वर्षको सफल कार्यकाल पूरा गरेको भाइचुङ र चामलिङ दुवैले आफ्नै आँखाले देखिसकेका छन्, तर उनीहरूले सत्यलाई पचाउन सकेका छैनन्।

२५ वर्ष जनतालाई ढाटेर सरकारको चौकी ओगट्ने पाका नेता पवन चामलिङको आशीर्वादमा राजनीति गर्ने सोच बनाएका छन् भने भाइचुङ यो जुनीमा कहिल्यै सफल राजनीतिज्ञ बन्न सक्दैनन् भन्ने एसकेएम पार्टीले ठोकुवा गरेको छ। भाइचुङले राजनीतिलाई फुटबल नसम्झिउन्, जनताले पत्याउने र विश्वास गर्नेसम्मको कुरा गरून् भनी एसकेएम पार्टी सुझाउ पनि दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *