कोलकाता: सर्वाधिक लोकप्रिय रहेको कोलकाताको ऐतिहासिक न्यू मार्केटलाई नयाँ रूप दिने प्रस्ताव कोलकाता नगरनिगमलाई टाउन भेन्डिङ समितिले दिएको छ। बुधबार टाउन भेण्डिङ कमिटीले विदेशकै ढाँचामा न्यू मार्केटमा नाइट मार्केट (रात्रि बजार) स्थापना गर्न प्रस्ताव गरेको छ यो प्रस्तावलाई निगमले स्वीकार गर्दै राम्रो प्रस्तावको संज्ञा दिएको छ। यस दिन कोलकाता नगरनिगमका एमएमआईसी देवाशिष कुमारले टाउन भेन्डिङ कमिटीका सदस्यहरूसँग बैठक गरे। बैठकमा समितिका सदस्य शक्तिमान घोषसहित समितिका अन्य सदस्यहरु, नगरपालिकाका आयुक्त धवल जैन, नगरपालिकाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। यस सम्बन्धमा नगर भेण्डिङ समितिका सदस्य शक्तिमान घोषले न्यू मार्केट क्षेत्रमा नाइट मार्केट स्थापना गर्न समितिले प्रस्ताव गरेको बताए। बैठकमा आफ्नो प्रस्ताव स्वीकृत भई मेयर फिरहाद हाकिम र राज्य सरकारसँग छलफल गर्न आग्रह गरिएको उनले दाबी गरे। उनले यो मार्केट स्थापना गर्नुको मुख्य उद्देश्य पर्यटक प्रवद्र्धन गर्नु रहेको बताए। यो मार्केटमा खानादेखि सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिने छ, जसले गर्दा मानिस बजारमा आएपछि खानासँगै मनोरञ्जन लिन सकून्। टाउन भेण्डिङ कमिटीले यो बजार स्थापना गर्न बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्मको प्रस्ताव गरेको हो। उनको प्रस्तावअनुसार रिगल सिनेमा हलदेखि च्याप्लिन स्क्वायरदेखि हग स्ट्रिटसम्मको सडक यस बजारका लागि खुला राख्नुपर्ने बताए। एमएमआईसी देवाशिष कुमारले नगरनिगमका आयुक्त धवल जैनलाई उक्त प्रस्तावमाथि चर्चा गरी राज्य सरकारलाई पठाउन आग्रह गरेका छन्। टाउन भेण्डिङ कमिटीका अर्का सदस्य देवाशिष दासले देशका धेरै ठाउँमा नाइट मार्केट आयोजना हुने गरेको बताए। कोलकाताको न्यू मार्केट क्षेत्रको एक भागमा नाइट मार्केट स्थापना भएमा सडक अवरुद्ध भएर बस्ने फेरीवालाको समस्या समाधान हुने उनको दाबी छ।









