सिलगढी: सिलगढीमा एउटा घरबाट मूल्यवान घडी र रुपियाँ चोरी गरेर बिक्री गर्न अगावै पुलिसले सो युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम सौरभ दास बताइएको छ। तिनी राङ्गापानी इलाका निवासी हुन्। घटनानुसार गत २ फरवरीमा सिलगढी थाना इलाकाको सुभाषपल्लीमा एकजना व्यवसायीको घरमा चोरीको घटना घटेको थियो। यसपछि तिनले घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा सिलगढी थाना पुलिसले हिजो कोइला डिपो इलाकाबाट सो युवकलाई पक्राउ गर्नको साथै धेरैवटा मूल्यवान घडी पनि उद्धार गरेको छ। कोइला डिपो इलाकामा चोरी गरेको घडीहरू बिक्री गर्न आएको समय पुलिसले उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।