नयाँ दिल्ली: भारतीय रिजर्व ब्यांक (आरबीआई)ले नीति दरहरू अर्थात् रेपो दरमा कुनै परिवर्तन गरेको छैन। मौद्रिक नीति समितिको बैठकपछि आरबीआईका गभर्नर शक्तिकान्त दासले नीतिगत दर सार्वजनिक गरेका हुन्। उनले रेपो दरमा कटौती नगरेकाले नीतिगत ब्याजदर ६ दशमलव ५० प्रतिशत कायम रहने बताए। आरबीआईको नेतृत्वमा रहेको मौद्रिक नीति समिति (एमपीसी)ले रिपोलाई ६.५ प्रतिशतमा राखेको छ। केन्द्रीय ब्यांकले ब्याजदरमा कुनै परिवर्तन नगरेको यो लगातार छैटौं पटक हो। आरबीआईको मौद्रिक नीति समितिको बैठक हरेक दुई महिनामा बस्छ। अघिल्लो दिसम्बरको बैठकमा पनि आरबीआईले रेपो दर बढाएको वा घटाएको छैन।
आरबीआई गभर्नरले सरकार र केन्द्रीय ब्यांकको प्रयासका कारण मुद्रास्फीति घटेको बताए। आरबीआईले चालू आर्थिक वर्षको लागि खुद्रा मुद्रास्फीति ५.४ प्रतिशत, २०२४-२५ मा ४.५ प्रतिशत हुने अनुमान गरेको छ। आर्थिक वर्ष २०२४ को लागि वास्तविक जीडीपी वृद्धि अनुमान ७ प्रतिशत हुनेछ। यसअघि विज्ञहरूले खुद्रा मुद्रास्फीति सन्तोषजनक दायराको माथिल्लो तहको नजिक रहेकाले केन्द्रीय ब्यांकले मौद्रिक नीतिमा नीतिगत दरमा खासै परिवर्तन गरेको थिएन। रिजर्भ ब्यांकले करिब एक वर्षदेखि रिपो दर ६.५ प्रतिशतमा स्थिर राखेको छ। यो पछिल्लो फरवरी २०२३ मा ६.२५ प्रतिशतबाट ६.५ प्रतिशतमा बढेको थियो। ब्याजदर ६ दशमलव ५० प्रतिशतमा स्थिर रहने भएकाले ब्यांकबाट कर्जा तथा बचत योजनामा प्राप्त हुने ब्याजमा कुनै परिवर्तन हुने छैन। ब्यांक र एनबीएफसीहरूले आरबीआईको बेन्चमार्क दरको आधारमा ब्याज दर बढाउँछन् र घटाउँछन्।