गेजिङ: सिटिजन एक्सन पार्टी-सिक्किमले गत २ फरवरीदेखि पश्चिम सिक्किमको याक्सुम टाशीडिङ क्षेत्रको लाब्दाङबाट शुरू गरेको “नागरिक जागरण यात्रा” गेजिङ-बर्मेक क्षेत्रपछि आज सोरेङ जिल्लामा समाप्त भएको प्रवक्ता प्रकाश पराजुलीले बताएका छन्। यस नागरिक जागरण यात्रालाई पार्टीका प्रमुख समन्वयक तथा मुख्यमन्त्री उम्मेद्वार गणेश राईले नेतृत्व गर्दै आइरहेको छ। यस यात्रामा पार्टीका वरिष्ठ राजनैतिक नेता भरत बस्नेतले पनि साथ दिएका थिए। गेजिङ जिल्लाका कार्यकारी अध्यक्ष ओङ्दिला भोटिया, अध्यक्ष पूजन खड्का, युवा परिषद्की अध्यक्ष तारा गुरुङ, इडु छिरिङ केल्योन, पार्टीका प्रवक्ता प्रकाश पराजुली लगायत थुप्रै नेताले सहभागिता जनाएको बिज्ञाप्तिमा भनिएको छ। यो यात्राको मूल उद्देश्य राज्यका नागरिकहरुलाई संविधानको मूल्य र मान्यतालाई बुझाउँदै गणतन्त्र भारतको नागरिकले पाउने हक-अधिकार विषय यथासम्भव सचेतना गराउनु रहेको छ। आजसम्मको राजनीतिले केवल जनतालाई भोट ब्यांक तथा सत्ता चड्ने भऱ्याङ मात्र बनाएको हुँदा सिटिजन एक्सन पार्टी-सिक्किमले अब नागरिकले प्रजातन्त्र तथा गणतन्त्रको प्रत्याभूति पाउन युग अनुकूल जागरुक हुनुपर्ने कुरामा जोड दिँदै आएको विज्ञाप्तिमा भनिएको छ। विषेश गरी सिटिजन एक्सन पार्टी-सिक्किम सत्तामा आएपछि सिक्किमको आर्थिक सुधार, प्रसाशनिक सुधार, राजनैतिक सुधार, शैक्षिक सुधार, भ्रष्टाचार मुक्त राजनैतिक व्यवस्था तथा समाजका विभिन्न तप्कालाई सशक्त बनाउदै नागरिकलाई असली सरकार दिने प्रतिवद्धता जाहेर गर्दै आएको बताएको छ। अझै तीस बर्षको राजनीतिले सिक्किमलाई केवल विश्वका ठूला ब्यांकहरुमा धितो राखेर एक मुठी नेताहरुले मोजमस्ती गर्दै आइरहेको तथा सिक्किमको अस्मिता र अस्तित्व माथि पनि एक मुठी षडयन्त्रकारीहरूले हमला गरेको आस्थालाई आदरणीय भरत बस्नेतले यात्रालाई स्वागत गर्न आएका जनतालाई बताएका थिए। यस नागरिक जागरण यात्रालाई गरिमामय, ऐतिहासिक तथा जनावस्यक बनाउन हेतु गणेश राई सोझै अन्तर्क्रिया/ सिधा बातचित गर्दै आफ्ना कुराहरु राख्ने भव्य कोशिस गरिरहेका बताइएको छ। अन्तर्क्रियाका क्रममा विषेश गरी युवा पिडी अब नयाँ राजनीति तथा राजनैतिक पद्दति चहान्छन् भन्ने बुझिएको छ।