गान्तोक: भारतीय डाक विभाग गान्तोकले दुईदिने गान्तोकपेक्स-२०२४ आयोजना गरेको छ। जिल्ला स्तरीय डाक टिकट प्रदर्शनी जुन आज सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयमा शुरु भएको छ। कार्यक्रममा सिक्किम सरकारको शिक्षा, स्वास्थ्य तथा परिवार कल्याण, भूराजस्व तथा आपदा प्रबन्धन, कानून विभागका मन्त्री कुङ्गा निमा लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित भएर कार्यक्रमको उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले भारतीय डाक सेवाको सुनौलो इतिहासलाई उजागर गरे। “हामी प्रविधिको युगमा बाँचिरहेका छौँ। यसैले अक्षर लेखनको सान्दर्भिकता र कलालाई धेरैले बिर्सिसकेका छन्”-लेप्चाले दुःख व्यक्त गरे। एक शौकको रूपमा डाक टिकट सङ्ग्रह एक बच्चालाई सदियौँ पुरानो डाक प्रणालीसित परिचित गराउँछ। अयोध्यामा रामजन्मभूमिको सम्झनामा भारतीय डाकले विशेष टिकट जारी गर्दा मन्त्रीले टिकटको कलाको प्रशंसा गर्दै टिकटमा माटो र पवित्र सरयू नदीको पानीको सार बोकेको महसुस गरे।उनले प्रदर्शनीमा विभिन्न महत्त्वपूर्ण विषयमाथि प्रकाश पार्ने 88 वटा टिकट रहने समेत जानकारी दिए। प्रदर्शनीमा विश्वको पहिलो टिकट ‘पेनी ब्ल्याक’ र भारतको पहिलो टिकट ‘सिण्डे डक’ जस्ता टिकटहरू सामेल छन्। कार्यक्रममा महिला सशक्तिकरण, महात्मा गान्धी र रामजन्मभूमिको सम्झनामा छापिएका टिकटहरू प्रदर्शनमा जोड दिइएको छ। मन्त्री लेप्चाले मेङ्गलोर र दिल्ली स्कूल अफ् इञ्जिनियरिङका उदाहरणहरू उद्घृत गरे किनभने त्यहाँका विद्यार्थीहरूले डाक टिकट सङ्ग्रहलाई गम्भीर अभ्यासका रूपमा लिन्छन्। मन्त्री लेप्चाले लेखकको शारीरिक तथा भावनात्मक स्पर्शलाई व्यक्त गर्ने भएकाले आफ्ना नजिकका र प्रियजनलाई पत्र लेख्ने बानी बसाल्न आग्रह गरे। यसअघि सिक्किमका पोस्ट मास्टर जेनरल कर्णेल अखिलेश कुमार पाण्डेले स्वागत मन्तव्य राख्दै सबैलाई विशेष गरी विद्यार्थीहरूलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरे। डाक उपाधीक्षक, सिक्किम श्री रवि लामाले आफ्नो सम्बोधनमा भारतीय डाक प्रणालीको भविष्यबारे जानकारी दिए। कार्यक्रममा फिलाटेलिक कङ्ग्रेस अफ् इण्डियाको गभर्निङ काउन्सिल अफ् इण्डियाका अध्यक्ष-निर्वाचित श्री मधुकर देवगावाङ्का र समाज कल्याण विभागकी सचिव श्रीमती सारिका प्रधान वरिष्ठ निर्णायकका रूपमा उपस्थित थिए।










