गेजिङ बर्मेकमा एसकेएम पार्टीको समष्ठीस्तरीय सभा सम्पन्न

IMG-20240207-WA0174.jpg

गान्तोक: एसकेएम पार्टीले गत ८ जनवरीदेखि शुरू गरेको पार्टीको समष्ठीस्तरीय सभा आज गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा सम्पन्न भयो।आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा रहेका थिए भने विशिष्ट अतिथिहरूमा मन्त्री भीम हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, संगठनका प्रभारी एवम उपाध्यक्ष पवित्र मानव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवम लोकसभा सांसद इन्द्र हाङ सुब्बाले एसकेएम पार्टीको पहिलो कार्यकाल सफलतापूर्वक सञ्चालन गरेको दावी गरे। एसकेएम पार्टीको सरकार गठन हुँदा पहिला कसैले पनि विश्वास नगरेको अवगत गराए। मुख्यमन्त्री प्रेम सिंह तामाङले लथालिङ्ग अवस्थामा छोडेको सिक्किमलाई सम्हालेर लाने र यहाँसम्म पुऱ्याउन सफल भएको अवगत गराए। यो सरकारले सबै वर्गको हितमा काम गरेको सुब्बाले दावी गरे। पूर्व सरकारले पञ्चायतहरूलाई पार्टीको हितमा उपयोग गरेपछि पञ्चायतहरूले स्वतन्त्रतापूर्वक काम गर्न नसकेको जानकारी गराए। यदि एसकेएम पार्टीले चाहेको भए पूर्व सरकारकालमा जे थियो सोही प्रकारले चुनाउ गराएर पञ्चायतहरूलाई पार्टीको रूपमा प्रयोग गर्न सक्ने दावी गरे। केन्द्र सरकारले सिक्किमको निम्ति विश्वविद्यालय दिएता पनि पूर्व सरकारले जमीन नदिएको कारण विश्वविद्यालयको निर्माण कार्य नभएको बताए। तर एसकेएम पार्टीको सरकार गठन हुनसाथ जमीन साथै केन्द्रबाट धनराशि पनि ल्याएपछि हाल उक्त विश्वविद्यालयको निर्माण कार्य युद्धस्तरमा भइरहेको जानकारी गराए। गेजिङ कलेजको उदाहरण दिँदै उनले उक्त कलेजको निर्माण कार्य प्राय सकिसकेको र अबको केही दिनमा उदघाटन हुन सक्ने सम्भावना व्यक्त गरे। विशेष गरेर सांसद सुब्बाले आज आफ्नो सम्बोधनमा राज्य सरकारले शिक्षाको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे जानकारी गराए। पूर्व सरकारले शिक्षकहरूलाई श्रमिकहरूको जस्तै व्यवहार गरेको पनि अवगत गराए। अहिले 25 वर्षसम्म शासन गरेको सरकारले फेरि पनि सिक्किम बचाउँछु भन्दै हिँडिरहेकोमा उनले कडारूपमा आलोचना पनि गरे। अहिले विपक्षी दलले वर्तमान सरकारले जन्म प्रमाण पत्र बुझाएपछि नौकरी पाइहाल्छ भन्दै राज्यका मानिसहरूलाई भ्रममा राख्ने प्रयास गरिरहेको किटान गरे। केन्द्र सरकारद्वारा शुरू गरिएको सबै योजनाहरू इमान्दारपूर्वक कार्यान्वयन गर्ने सिक्किम सरकार रहेको र यसले राज्यका गरीब जनताले लाभ उठाएको बताए।

यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवम मन्त्री लोकनाथ नेपालले पाँच वर्षको एसकेएम पार्टीको कार्यकालमा गेजिङ निर्वाचन क्षेत्रमा के कस्ता विकासका कामहरू भए त्यसबारेमा जनतालाई अवगत गराए। गेजिङ बजारको धेरै वर्ष अघिदेखि रहेको समस्या विशेष गरेर पिउने पानी,स्विरेज लगायत जस्ता समस्याहरू समाधान गरेको दावी गरे। पूर्व सरकारले पच्चीस वर्षसम्म पनि गेजिङ बजारको उक्त समस्या समाधान गरेको जानकारी गराए। अब गेजिङ बजारका मानिसहरूले पिउने पानी प्राप्त गर्ने र यसको निम्ति टेण्डर भइसकेको अवगत गराए।पूर्व सरकारले गेजिङलाई बनमारा घारी जस्तो बनाएर राखेको आरोप लगाए। अब गेजिङ बजारमा देखिएको पार्किङ समस्या पनि शीघ्र समाधान हुने र यसको निम्ति दुई सय करोडको धनराशि सरकारले स्वीकृति दिएको पनि मन्त्री नेपालले बताए। यसरी नै गेजिङ बजारका 80 परिवारले घर पाउने र घरको निर्माण कार्य युद्धस्तरमा चलिरहेको जनाए। उक्त घर विशेष गरेर गेजिङ बजारमा बसोबासो गर्दै आएका घर विहिन र जमीन विहिन गरीब परिवारालई उक्त घर दिने घोषणा गरे।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रमुख प्रवक्ता एवम मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभाको चुनाउमा यस गेजिङ बर्मेक निर्वाचन क्षेत्रले अवश्य पनि जित्न सक्ने आजको जनभेलाले दर्शाएको बताए। गेजिङ बर्मेक निर्वाचन क्षेत्रले पश्चिम जिल्लाको सबै निर्वाचन क्षेत्रलाई विजयी गराउनमा अहंम भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे। गत वर्ष २०१९ को चुनाउमा दक्षिण र पश्चिमबाट सबै निर्वाचन क्षेत्रहरू जित्ने दावी गरे। यसरी नै गान्तोक जिल्लामा पनि सबै सीट जित्ने विश्वास व्यक्त गर्दै सोलिड एसकेएम हुने बताए। पूर्व सरकारले २५ वर्षसम्म गर्न नसकेको काम वर्तमान सरकारले चार वर्षको अवधिमा गरेर देखाएकोमा यसपालीको चुनाउ गोलेको भरोसमा जित्ने उनले किटान गरे। यस निर्वाचन क्षेत्रका मन्त्री नेपालले कृषि क्षेत्रमा धेरै काम गरेकोले पनि यो पालीको चुनाउमा यस निर्वाचन क्षेत्रका जनताले एसकेएम पार्टीलाई जिताउने विश्वास व्यक्त गरेका छन्। यो निर्वाचन क्षेत्र एसकेएम पार्टीको निम्ति आगो, तुफान साथै गढ रहेको जानकारी गराए।

सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै संगठनमा प्रभारी एवम उपाध्यक्ष पवित्र मानवले वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङको सकारात्मक सोंचको कारण राज्यमा धेरै विकास भएको बताए। उनको समावेशी सोंचको कारण राज्यले विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement