‘लोक संगीत/सांस्कृतिक’ योगदानका निम्ति सम्मानित बनेका लक्षुमण लिम्बू

IMG-20240207-WA0133

स्व. माईला लिम्बूका दुई गुँडका नौ सन्तानहरुमध्ये पहिलो श्रीमती स्व. माईली लिम्बुनीको कोखबाट ठूलो कान्छाको रुपमा सन् १९७३ मा बीरपाडाको निउलाईनमा लक्ष्मण लिम्बूको जन्म भएको हो। आफू दुई वर्षको वाल्यकाल उमेरमै २१ महिने भारतको तत्कालीन राष्ट्रिय आपतकाल भोगिसकेका श्री लिम्बूले सन् १९८३ सालमा आफ्नो प्राथमिक शिक्षा श्री गणेश विद्यामन्दिर , वीरपाडाबाट , सन् १९८९ मा बीरपाडा नेपाली उच्च विद्यालयबाट माध्यमिक शिक्षा, सन् १९९१ मा सिलगढी स्थित कृष्णमाया मेमोरियल हायरसेकेण्ड्री स्कूलबाट उच्च माध्यमिक शिक्षा हासिल गरेका छन्। साहित्यमा रुचि राख्ने श्री लिम्बूले सिलगढी कलेजमा नेपाली विषयमा सम्मान लिएर अध्ययन गर्न चाहे पनि कतिपय चाँजो नमिल्दा कला विभागमा आफ्नो नाम दर्ता गरेर केही महिनासम्मको कलेज अध्ययनपछि आरएमपी (रजिष्टर्ड मेडिकल प्र्याक्टिस्नर) को प्रशिक्षण लिन कोलकाता गए। 

ठुलै गुँडमा हुर्किएका उनी सानै उमेर छँदा घरको पारिवारिक आर्थिक विपन्नतासँगै जुझ्दै आफ्नै हातले घरमा गोर्खे सुरा (डडुवा रक्सी) बनाउन जान्दथे। सुरा बिक्री गरपछि हातमा परेको सम्पूर्ण रकमबाट गाउँघरका भाईबन्धु , संघसंस्थाका युवाहरुको निम्ति दुकि- तबेला, हार्मोनियम किनिदिन्थे। उतिखेर नै समाजलाई अग्रगतितिर धकेल्न समाजका हर युवाहरु प्रत्येक क्षेत्रमा अघि बढन आवाश्यक छ भन्ने मूलमन्त्र बुझेका उनले हार्मोनियम, दुकि-तबेला किनेर युवाहरुलाई त्यसरी सुम्पनुले श्री लिम्बू यस ठाऊँसम्म आइपुगेको कुरो ठिम्याउन खासै अप्ठ्यारो हुँदैन। सिलगढी आफन्तकहाँ बसेर उच्च शिक्षा अध्ययन गर्दैगर्दा कुनै मैदानी क्षेत्र भई विद्यालय धाउने गर्नुपर्थ्यो । चउरमा कसैको गाईबस्तु पघा लाएको भेटेपछि कितापकापी एकातिर राखेर किला वरिपरिका वृत्ताकार क्षेत्र चरिसकेका ती गाईवस्तुलाई घाँस भएको ठाउँमा पघा सारिदिन्थे  म जस्तै यी प्राणीहरुको पेट पनि टम्म भरिनुपर्छ भन्ने सोंच पालेका उनी जन्तुप्रेमी पनि हुन् भन्ने तथ्य हालसम्म नखुलेको विषय हो। 

उनलै नेतृत्वमा सन् १९८५ सालमा सारदापल्लीको देउराली संघ स्थापना भएको हो। स्थापनाकालदेखि नै संस्था मार्फत विभिन्न सामाजिक, सांस्कृतिक, साहित्यिक कार्यक्रमहरुका साथ विभिन्न  क्रियाकलापहरू गर्दै आइरहेको उहाँले सांस्कृतिक एकजुटता ल्याउने प्रयासमा डुवर्समै प्रथमचोटी सन् १९९३ देखि ‘फूलपाती शोभायात्रा’ को थालनी गरेको बुझिन्छ। यसैलाई आधार मानेर मध्य डुवर्स फूलपाती शोभायात्रा आयोजक समिति-२०२१’ ले विगत् वर्ष २०२१ मै प्रथम ‘फूलपाती गौरव सम्मानले पनि सम्मानित गरिसकेको छ। देउराली संघको आयोजनामा लगातार अनि भव्यरुपमा ‘भानुजयन्ती’ पालन गर्ने एक कुशल एवं आयोजक प्रमुखको रुपमा पनि उनको नाम डुवर्समै अग्रपंत्तिमा लिन सकिन्छ। भानुजयन्तीको कार्यक्रमप्रति मानिसहरुलाई आकर्षित गराउन कहिले सिलगढीकै प्रतिष्ठित ‘दाज्युबहिनी कलाकेन्द्र’बाट नृत्यकलाकार समूह ल्याउँथे भने कहिले दार्जीलिङको सुप्रसिद्ध ब्याण्ड ‘कारनिभल’ ल्याएर भानुजयन्ती समारोहमा ठुलै भिँड जुटाउथे। उनी एक कर्मठ समाजिक अभियन्ता, सांस्कृतिक कर्मी, साहित्यप्रेमी अनि अब्बल नाट्यकलाकार पनि हुन् भने सुनचरी, सगरमाथा, अब, आजभोली नेपाली दैनिक अखबारदेखि आजपर्यन्तको ‘हिमालय दर्पण लगातार पढिरहने एक इमानदार अखबार पाठक हुन् भन्ने अर्को नखुलेको विषय मान्न सकिन्छ। प्रत्येक बिहान नै टेबलमा नेपाली अखबार देखिने हुनाले नेपाली पत्रपत्रिका, नेपाली भाषाप्रति उनको लगाव अनि प्रेम झल्किन्छ। 

एकल नाटक मनपराउने श्री लिम्बू आफै नाटक लेख्छन् भने ‘खोक्रै थिएँ खोक्रै भएँ’ एकल नाटक, स्थानीय तहका धेरै मञ्चहरुमा आफुले मञ्चन गरिसकेको उनी बताउँछन्। देउराली संघ , नवप्रतिभा संघ, गोरेटो संघ, हाम्रो समाज-बीरपाडा, चन्द्रवीर प्रधान ग्रामीण जनपुस्तकालय-कलेजपाडा, बीरपाडा, गौरवशील सोसाइटी जस्ता विभिन्न संघसंस्थाका सदस्यको रुपमा जडित रहेर उन्नत समाज, भाषा समृद्धिको निम्ति कार्य गर्दै आइरहेका छन्। हाल उनी आरएमपीए मदारीहाट ब्लक सचिव साथै प्रशिक्षक पनि हुन्। कोरोनाकालमा यसै मञ्चबाट वरिपरिका अनेकौं चियाकमानहरु ढेकलापाडा, बन्दापानी , दलमोर आदि ठाउँहरुमा नि:शुल्क स्वास्थ्य शिविर लाएर सेवा पुर्याउन पनि पछि परेका छैनन्। कोरोनाकालमा गाउँभरिका ज्वरो आउने जति मानिसहरु उहाँकै घरमा चिकित्सा सेवाको निम्ति जाँदथे। घरमा आएका कुनै विरामीलाई वहना गरेनन् तथापि ज्यानको बाजी लाएरै सबैको सेवाको निम्ति जुटिरहे। सन् २०१३ देखि २३ सम्म लगातार १० वर्षसम्मको  पञ्चायती कार्यकालमा गोर्खा जनमुक्ति मोर्चाबाट पञ्चायत सदस्य रहेका श्री लिम्बूले आफ्नो कार्यकालको शुरुदेखि नै आफ्नै गोजीबाट गाउँका निर्धन र असहाय वृद्ध -वृद्धाहरुलाई प्रत्येक महिना रु २००/- गरेर वृद्धभत्ता दिने गरे भने कार्यकालको अन्तसम्मै सुचारू चलाए। मध्य डुवर्समा भारतीय गोर्खा परिसंघको सांगठनिक भूमिकामा पनि उनको महत्त्वपूर्ण योगदान रहिआएको छ।  उनी सन् २०२१ मा प्रथम ‘फूलपाती गौरव सम्मान’ ले सम्मानित बनिसकेा छन् भने ‘कितापसिंह राई सालिग निर्माण समिति’ का सचिवको नातामा डुवर्स नेपाली साहित्य विकास समितिद्वारा, डुवर्स ओपन माइक (२०२०),  डिएसएस इन्स्टिट्युट -सिक्किमबाट ‘गोर्खा रत्न’ सम्मानले सम्मानित बनिसकेका छन्। वर्तमान युवा पिँढीले उन्नत समाज, साहित्य एवं संस्कृति जगेर्ना, जातीय एकता हित भाषा संरक्षणको निम्ति समाजमा नथाकी कार्य गर्न आवश्यक रहेको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement