सिलगढीमा रौसिलो परिवेश जमाएको गोर्खा सांस्कृतिक प्रदर्शनी अनि खाद्य उत्सव

IMG-20240207-WA0123

सिलगढीमा ठण्डा महिनाको छेक पारेर विभिन्न प्रकारका मेला/ भेला त भइ नै रहन्छ। तर यसपाली भने गोर्खा गौरव संस्थान,कालेबुङ तथा सिलगढीका स्थानीय केही संघ–संस्थाहरू तथा समाजप्रेमी व्यक्तिहरूको सहयोगले सिलगढीको मुटु मानिने सेभोक रोडस्थित् एक्रोपोलिस मलको परिसरमा तीन दिवसीय गोर्खा सांस्कृतिक मेला भव्यरूपमा सम्पन्न भयो। मेलाको मूल प्रवेशद्वारमा नै अतिथिहरूको स्वागतार्थ एकापट्टि जातीय भेषभुषामा उभिएका मोडल थिए भने अर्कोपट्टि परम्परागत खरले छाएको घरका भित्तामा हतियारहरू सिउरिएका अनि घर-बाहिर जातीय भेष-भुषामा स्त्री-पुरूषको मोडल राखिएका थिए।

देशको ७५औं गणतन्त्र दिवसदेखि आरम्भ भएको यो मेला २८ जनवरी २०२४ सम्म चल्यो। मेलाको शुभ उद्घाटन युवा उद्यमी गोर्खा गौरव लक्ष्मी लिम्बु कौशलको करकमलबाट गरियो भने गोर्खा म्युजियमको उद्घाटन सिलगढी म्युनिसिपल कर्पोरेशनका डेप्युटि मेयर,रञ्जन सरकारको हातबाट भयो अनि आर्ट एक्जिविशन कक्षको द्वारोद्घाटन ४१ नम्बर वार्डकी पार्षद सेविका मित्तलको हातबाट गरियो। तीन दिवसीय मेलामा आमन्त्रित मुख्य अतिथि अनि विशिष्ट अतिथिहरू सी. के. श्रेष्ठ, राजु बासु, देवकोटा संघका सभापति, मिलन रूचाल, मूल सचिव, पी. टी. यल्मो, दार्जीलिङबाट जीटीएका सभासद् अजय एड्वर्डस्, सांसद राजु विष्ट, गोर्खा गौरव पद्मश्री पुरस्कार प्रापक,डा.एकलव्य शर्मा,नेपाली फिल्म निर्माता तुलसी घिमिरे,अवकाशप्राप्त एडीएम गोपाल लामा, समाजसेवी कृष्ण लामा,अवकाशप्राप्त शिक्षक, गणेश प्रधान साथै अन्य धेरै समाज-सेवीहरूलाई थुंगे फूलको माला लगाएर सम्मान जनाइयो।

गोर्खा गौरव संस्थानका संयोजक नरेन्द्र तामङले बताएअनुसार, यो मेला मूलत: चारवटा उद्देश्य लिएर लगाइएको थियो,ती हुन्– (१)गोर्खा जातिको संस्कार-संस्कृति अनि परम्पराको संरक्षण तथा वर्तमान अनि भावी पिंढीका सन्तानलाई देखाउनु र बुझाउनु (२)हाम्रो संस्कार–संस्कृति अरू समुदायहरूलाई देखाउनु  (३)सिलगढीका विभिन्न संघ–संस्थाहरूलाई एउटा मञ्चमा भेला गर्नु (४)युवा पिँढीलाई व्यवसाय गर्न सिकाउनु साथै नोकरी खोज्नु मात्र होइन नोकरी दिने योग्य बनाउनु। यस मेलामा जातीय भेष-भुषा, जातीय गर-गहना, पुस्तक, जातीय हात-हतियार, हस्त शिल्पकला, जातीय वाद्य-वादन, जातीय खाद्य पसलहरू गरी जम्मा पचात्तरवटा पसलहरू राखिएका थिए। कालेबुङ, दार्जीलिङ, खरसाङ अनि सिलगढी,गुल्माका  गोर्खा व्यवसायीहरूले पसलहरू थापेका थिए। पसलहरूमा बाँसका धेरै प्रकारका सजावटका सामान, चोयाले बनाएको जाँड़ छान्ने छपनी,डोको,थुन्से,नाङलो,तीन धर्के गुन्द्री,पेरूङ्गो, मान्द्रो,डालो,ढुंग्रो आदिको प्रदर्शन अनि बिक्रीमा राखिएका थिए। पराल र मकैको खोसेलाले बनाइएका पीरा,मुसाबाट बँचाएर राख्ने मकैका थाङरो,खानेकुरामा कालो दाल,पहेंलो दाल,फापरको पिठो,कोदोको पिठो,मकैको चामल,गुन्द्रुक,गाउँको विशुद्ध मह,नाना प्रकारका अचार,घिउ आदि यस पसलका मुख्य आकर्षण थिए। मौरीको डुँढ पनि प्रदर्शनीमा राखिएको थियो। महको बोतल राख्ने बाँसको स्ट्याण्ड पनि देखियो। एकजना भाईले आफैले बनाएका चार किसिमका मादल र एउटा सारंगी पनि राखेको थियो। बीच-बीचमा आयोजक मण्डलीका भाईबहिनीहरू मादल बजाउँदै नाँच्दै मेलाको वातावरणलाई रमाइलो बनाइरहेको पनि देखियो।

अलगढा निवासी मिनकुमार विश्वकर्मले आफ्नै आरनमा बनाइएका धेरै खुकुरीहरू राखेका थिए। तिनको सानोतिनो कारखाना नै रहेछ। त्यहाँबाट उनले भारतीय सेनाको गोर्खा रेजिमेन्टलाई खुकुरीहरू मागअनुसार बनाएर आपुर्ति गर्दा रहेछन्। उनले बनाएका खुकुरीहरू नेपालतिर पनि बिक्रि हुँदो रहेछ। उनले २२ प्रकारका खुकुरीहरूको नाम बताए, ती हुन्– बाँस्पाते, सिरुपाते,चितलाङ्गे,बुधुने,चैनपुरे,सुपर मिनि,मिनि जंगल, आर्मी,सर्भिस,इराकी,ड्यागन,भोजपुरे,देरादुने,सरकारी,इराकी ह्याण्डल,डोरा, चकर खुकुरी,आङ्खोला पनावल,तीन चिरे,पाँच चिरे,ब्लान्स खुकुरी,ड्यागन ईगल। गोर्खा म्युजियमभित्र राखिएका सामानहरूमध्ये मकै छोडाउने पुरानो हाते मशिन,ढक तराजु,मार हान्ने खुकुरी,कट्टी,सिरूपाते खुकुरी,चामल भर्ने माना-पाथी,अलैंची टिप्ने औजार,पराल र खोसेलाको पीरा,पाइल्स बिमारी हुँदा बस्ने सुकुलको बीचमा लुगा हालेर बनाएको पीरा,भेडाको ऊनको पुरानो राडी,गुन्द्री,फलामको झीर,परालको डोरी बाँध्ने औजार,ताँबाको धिप्रि,लालटिन,दूध बोक्ने सिलभरको केन,दही राख्ने ठेकी,पञ्चे बाजा,झ्याम्टा, सनाही,दमाह,बरसिंग,करनाल,डोको,च्याब्रुङ,बारीमा आली लगाउने फरूवा,बारी जोत्ने हलो,लिपी, मकै भुटने हातले बनाएको होर्लाङ्गे,दूध दुहुने दुधेलो,मकै पिस्ने जाँतो,ताँबाको कितली,ओखली,मुसली, जोगीले फुक्ने फेरी, सुन जाँच्ने पुरानो कालो ढुँगा,सेलरोटी पकाउने तावा,बिउको दाना राख्ने चिण्डो (लौका जस्तो देखिने),गोरू नार्ने जुवा,चौरीको सिङको वाइन राख्ने भाँडा,रक्सी बनाउने भाँडा (ओदानमाथि देखियो)र अरू पनि धेरै औजारहरू थिए। प्रदर्शनीमा राखिएको कालेबुङको ग्रीन आर्ट ग्यालरीबाट दुई चारवटा चित्रहरू बिक्री भएको देखियो। क्रेताहरूमा सेविका मित्तल,लक्ष्मी लिम्बु कौशल अनि नेपालका एकजना व्यक्ति थिए।  

मेलामा राखिएका खानेकुराका पसलहरूमा मानिसहरूले कोदोको सेलरोटी,मोमो,आलुदम,बस्तीको कुखुराको मासु-भात,कोदोको ढेंडो, पोलेको मासु,वाइन,वाचिपा खुबै मन पराएर खाएको देखियो। यस्ता खानेकुराका परिकारहरू अगोर्खा समुदायका मानिसहरूले पनि खाएको देखियो। मेला घुम्न आएका मानिसहरूको मनोरञ्जनका निम्ति विन्टर म्युजिक फेस्टका कलाकारहरूको ग्राण्ड फिनालेको गायन तथा वाद्य-वादन प्रतियोगिताका साथसाथै टिस्टा बचाऔं म्युजिकल ब्याण्डको पक्षबाट आएका कलाकारहरू तथा अशोक राई स्कूल अफ् म्युजिकका कलाकारहरू लगायत सिलगढी अनि सिलगढी वरपरका विभिन्न संघ-संस्थाका स्थानीय कलाकारहरूले नेपाली जातीय नृत्य तथा गायन कार्यक्रमहरू प्रस्तुत गरेका थिए। विन्टर म्युजिक फेस्टका प्रतियोगी कलाकारहरूले गिटार अनि बाँसुरी वादन प्रतियोगितामा आफ्नो प्रस्तुति दिएका थिए। यस सांस्कृतिक प्रदर्शनी तथा खाद्य उत्सवको अन्तिम दिनको अन्तिम कार्यक्रम थियो– कालेबुङको लोकप्रिय नाट्य-टोली भानु–पालाको नाटक। मुटु कमाउने माघको जाडोमा पनि मानिसहरू धेरै संख्यामा यो नाटकको आनन्द लिन बसेको देख्दा भानु-पालाको नाटक कतिसम्म लोकप्रिय रहेछ भन्ने ज्ञात हुन्छ। यस नाटक टोलीमा दिग्गज नाट्य कलाकारहरूको उम्दा प्रदर्शनको सराहना नगरी सकिँदैन।

यस मेलाको विशेष आकर्षण के थियो भने वर्णमाला परिवारबाट उपस्थित महानुभावहरूको माझमा साउँ-अक्षर प्रतियोगिता राखिएको थियो। वर्णमाला परिवारद्वारा प्रकाशित वर्णमाला चिन्ने अनौठो तरीका देखाउने पुस्तक प्रदर्शनीमा राखिएको थियो। यस मेलामा असंख्य मानिसहरूको सहभागिताले यो तीन दिवसीय गोर्खा सांस्कृतिक मेला अत्यन्त सफल भयो। आयोजक मण्डलीको साथसाथमा पसलेहरू पनि अप्रत्याशित बिक्रीबट्टा भएकोले खुबै खुशी भएको देखियो। गोर्खा गौरव संस्थानका सर्वश्री नरेन्द्र तामङ,सुधीर घले तथा मिङमा शेर्पालाई सिलगढीमा यो अभूतपूर्व गोर्खा सांस्कृतिक प्रदर्शनी तथा पारम्परिक खाद्य उत्सवको भव्य आयोजनाको मार्फत् सराहनीय कार्यको कदर गर्दै सिलगढी वरिष्ठ महिला समूहको तर्फबाट बधाई दिँदै ढाका टोपी र सयपत्री फूलको माला लगाएर सम्मान टक्राइयो। सिलगढीमा आयोजित गोर्खा सांस्कृतिक मेलामा राखिएका गोर्खा जातिको संस्कृति दर्शाउने खालका विभिन्न कार्यक्रम तथा प्रदर्शित कलाकृतिहरूबाट अन्य समूदायका मानिसहरू प्रभावित भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement