गेजिङ: गेजिङ जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर जिल्लापाल एम भरानीले एक सभा आयोजना गरे। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा पुलिस अधिक्षक जे. जयापाण्डेया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा बसेको सभामा राजनैतिक प्रतिनिधि र प्रशासनबीच खुल्ला संवाद भएको थियो। विशेष गरेर सभामा आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा विषयमा चर्चा परिचर्चा गरियो। यसरी नै राजनैतिक दलहरूले चुनाउको समयमा टाँस्ने ब्यानरको निम्ति वुथलेवल अधिकारीहरूबाट अनुमति लिनु पर्ने र यसको निम्ति सुविधा र भिजिल एप्सको प्रयोग गर्न सक्ने बताइयो।
सोही प्रकारले मतदान केन्द्रहरू स्थानान्तरण, अनुमति पत्र, हतियार बुझाउने, ड्राई डे घोषणा, सामाजिक सञ्जाल ह्यान्डलहरूको व्यवस्थापन, अभियान रणनीति, र सवारी साधन र लाउडस्पीकरहरूको अनुमति जस्ता विषयहरूमाथि चर्चा परिचर्चा गरियो। सम्बोधन गरिएका अन्य बुँदाहरूमा तोकिएको पोस्टरिङ र ब्यानर स्थानहरूको पहिचान, मोटर बाइक, सानो वाहनमा झण्डाको आकार, स्टार प्रचारकहरूको विवरण, सुरक्षा व्यवस्था, जिल्लाका कुल मतदाता सङ्ख्यालगायत अन्य विषयमा छलफल भएको थियो।
आफ्नो सम्बोधनमा जिल्लापालले निर्वाचन प्रक्रियामा शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिँदै निर्वाचन आयोगले तोकेको निर्देशन पालना गर्न सबै राजनीतिक दललाई आग्रह गरे। उनले मतदाताहरूको सहभागिता सुनिश्चित गर्न राजनीतिक दलको भूमिका अहंम हुने गरेको अवगत गराए।









