गान्तोक: भारतीय नेपाली इसाई स्रष्टाहरूको साझा मञ्च स्रष्टा संगमद्वारा यसपाली दुईजना वरिष्ठ स्रष्टाहरूलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिने भएको छ। स्रष्टा संगमको चौथो वार्षिक सम्मेलन यसपाली आगामी ९ र १० फरवरीको दिन गान्तोकको जनता भवनमा आयोजना हुने भएको छ। उक्त दुई दिवसीय कार्यक्रमको पहिलो दिन दुईजना वरिष्ठ स्रष्टाहरू कालेबुङ निवासी वरिष्ठ साहित्यकार एंव बाईबल शिक्षक रेभरेन्ट डा. छत्र सुब्बा पावल र सिक्किमको रम्फु निवासी पूर्व शिक्षिका एंव वरिष्ठ नारी स्रष्टा के के प्रधानलाई सम्मानित गरिने भएको छ। त्यसको साथै पहिलो शशिप्रभा पुरस्कार प्रापक कथाकार सन्ध्या आचार्यलाई पनि स्रष्टा संहमद्वारा अभिनन्दन जनाउने भएको जानकारी स्रष्टा संगमको अध्यक्ष रवि रोदन र सचिव हनोक थापाले जनाएका छन्। दुवैले जनाए अनुसार भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूको स्थापना सन् २०१८ मा खरसाङके सिटोङबाट भएको थियो भने पहिलो सम्मेलनमा वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगलाई अभिनन्दन जनाइएको थियो। त्यसरी नै दोस्रो वार्षिक सममेलन २०१९ मा सिक्किमको रम्फुमा भएको थियो जसमा वरिष्ठ साहित्यकार सलोन कार्थकलाई सम्मान जनाइएको थियो। त्यसै क्रममा तेस्रो सम्मेलन २०२०मा सिलगढीमा भएको तेस्रो वार्षिक सम्मेलनमा वरिष्ठ साहित्यकार सुकनम र दिनेश खालिङलाई सम्मान जनाइएको थियो भने यसपाली गान्तोकमा हुने स्रष्टा संगमको चौथो वार्षिक सम्मेलनमा रेभरेन्ट डा. छत्र सुब्बा पावल र के के प्रधानलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिने भएको छ। दुवैलाई साहित्य क्षेत्रको दिएको बहुमूल्य योगदानको लागि सम्मान जनाइने भएको छ।