यसपालीको चुनाउ सिक्किमका लागि अस्तित्व बचाउने अन्तिम अवसर हो: पवन चामलिङ

IMG-20240206-WA0000.jpg

गान्तोक: “यसपालीको चुनाउ सिक्किमका लागि अस्तित्व बचाउने अन्तिम अवसर हो। चुनाउमा सिक्किम र सिक्किमे जनताका हक, अधिकार अनि सिक्किमको अस्तित्व बचाउनका लागि एसडीएफको जीत अति आवश्यक छ। चुनाउमा एसडीएफको जीत भयो भने मात्र सिक्किम र सिक्किमे जनताको जीत हुनेछ”, सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आज भने। उनी गान्तोकस्थित एसडीएफ भवनमा आयोजित पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै थिए। सभामा चामलिङले थप भने, बितेको पाँच वर्ष सिक्किम र सिक्किमेली जनताले एसकेएम सरकारमा दु:ख मात्र पाएका छन्। यी पाँच वर्ष सिक्किमका लागि कालो वर्ष बनेका छन्।
पवन चामलिङले राज्यको वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा सरकारलाई जनताको रक्षक नभएर भक्षक बताएका छन्। उनले राज्यको विकास भएको छैन, अनि विकास नहुनु भनेको भ्रष्टाचार बढ्नु हो भने। यसको साथै उनले पार्टी कार्यकर्ताहरूलाई जनतामा पुगेर एसकेएम सरकारले सिक्किम र सिक्किमे जनताको हित विपरीत के कस्ता काम गरेको छ ती सबैको खुलासा गर्न आग्रह पनि गरे। उनले भने, एसडीएफ पार्टी सिक्किम र सिक्किमे जनताको हक हितको सुरक्षाका लागि प्रतिबद्ध छ। हामी सिक्किम र सिक्किमे जनताको हक, हितको सुरक्षामा अलिकति पनि सम्झौता गर्ने छैनौँ। चामलिङले अझ भने, सिक्किमको भविष्य बचाउनका लागि, सिक्किमको अस्तित्व बचाउनका लागि अनि सिक्किम र सिक्किमेको भविष्य बचाउनका लागि म आफ्नो ज्यान दिन पनि तयार छु।
पवन चामलिङकाअनुसार वर्तमानमा सिक्किममा विधिको शासनको अन्त भएको छ, नियम-कानुन छैन। असल प्रशासन जनताले देख्न पाएका छैनन्। उनले भने, सरकारमा कुनै सिस्टम छैन। राज्यभरी पीएस गोले र उनका टिममात्र देखिन्छ, उनीहरूको धम्की मात्र सुन्न पाइन्छ। जनतालाई ठुलो अन्याय भएको छ। मुख्यमन्त्री पीस गोलेको दयामा आज जनताले सास मात्र फेरिरहेका छन्।
आजको सभामा आगामी विधान सभा र लोक सभा चुनाउलाई लिएर महत्त्वपूर्ण छलफल गरियो। यस अवसरमा पार्टीको सिक्किम बचाउ अभियान गीत सिक्किमीज, जनजनमा मनमनमा पवन पार्टी अध्यक्षले लोकार्पण गर्दै सिक्किम जनतालाई समर्पण गरे। सभालाई युवा मोर्चाका महासचिव प्रकाश ली, मुख्य प्रवक्ता एम के सुब्बा, वरिष्ठ उपाध्यक्ष केटी ग्याल्छेन, वरिष्ठ उपाध्यक्ष पीडी राईले आदि पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement