गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज भन्दा दुई वर्ष अघि उनको जन्म दिनको अवसरमा यदि कसैले उपहार प्रदान गर्न चाहेमा राज्यका गरीब जनतासमक्ष पुगेर उनीहरूलाई सहायता दिनु पर्ने अपील गरेका थिए।
मुख्यमन्त्रीको उक्त भनाइलाई आत्मसाथ गर्दै सिक्किम टुरिज्म स्टेक होल्डर्सले आज मुख्यमन्त्रीको जन्मदिन राक्दोङ तिन्तेकको लि- आल वृद्ध आश्रममा पालन गऱ्यो।
यस अवसरमा ट्राभल्स एसोसिएसन अफ् सिक्किम (टास)-ले पूर्व जिल्ला अन्तर्गत राकदोङ तिन्तेकमा सञ्चालित लि-आल वृद्ध आश्रममा अश्रित मानिसहरूलाई आवश्यक सामाग्री प्रदान गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङको जन्म दिवस पालन गरेको छ। पत्रकारहरूसँग कुराकारी गर्दै टासका अध्यक्ष सोनम नोर्गे लाचुङपाले मुख्यमन्त्रीको आदेशलाई शिरोपर गर्दै वृद्ध आश्रममा उनको जन्म दिन पालन गरेको जानकारी गराए।
उनले थप जानकारी गराए अनुसार यस वृद्ध आश्रममा हाल १३ जना मानिसहरू आश्रित रहेका छन्। उनीहरूको हेरचाह गर्ने कोही नभएको कारणले गर्दा धेरै वर्षदेखि यस आश्रममा जिवन यापन गर्दै आइरहेका छन्। उक्त आश्रमकी सञ्चालिका पासाङकित लेप्चाले उनीहरूको हेरचाह गर्दै आइरहेकी छन्। सोही क्रममा टासका महासचिव रमेश बस्नेतले पनि मुख्यमन्त्रीको आदेशलाई शिरोपर राख्दै आफूहरूले यस प्रकारको पहल गरेको पत्रकारहरूलाई अवगत गराए। उनले थप जानकारी गराए अनुसार यस आश्रममा रहेर जिवन विताइरहेका १३ जनालाई आज आवश्यक खाद्य सामग्री प्रदान गरेको छ।










