सालबारीमा साहित्यकार इन्द्रबहादुर राईको ९७औँ जन्म जयन्ती पालन

IMG-20240205-WA0175.jpg

खरसाङ: भारतेली नेपाली साहित्यका शिखर पुरुष एवम् ‘तेस्रो आयाम’ र ‘लीला लेखन’ साहित्य अभियानका प्रणेता साहित्यकार इन्द्रबहादुर राईको ९७औँ जन्म जयन्ती सालबारीमा पालन गरियो। उक्त समारोहमा कवि सञ्जय बान्तवा, वरिष्ठ कथाकार बिन्द्या सुब्बा र वरिष्ठ कवि, अध्येता ज्ञानेन्द्र खतिवडाका बाहुलीबाट स्व इन्द्रबहादुर राईको तस्विर अघि दीप प्रज्ज्वलन गरिएपछि उपस्थित सम्पूर्ण साहित्यिक सर्जकहरूले खदा, पुष्पद्वारा श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रमलाई कवि हेमन्त काफ्लेले सञ्चालन गरेका थिए। उनले उपस्थित सम्पूर्ण वरिष्ठ साहित्यकार, कवि र साहित्य प्रेमीहरूलाई स्वागत जनाए। उनले यस कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै खरसाङको बालासन खोलाको बगरमा ३ फरवरी १९२७ को दिन जन्मेका इन्द्रबहादुर राई सशरीर हामीमाझ नरहे तापनि उनका ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ र अन्य धेरैवटा प्रसिद्ध कृतिले उनलाई अजर अमर बनाएर राख्नेछ भन्ने तथ्यलाई प्रस्ट पारे। उनले इन्द्रबहादुर राईको भाषासाहित्य प्रतिको प्रतिबद्धताबारे बोल्दै नेपाली भाषालाई ‘विदेशी’ चिन्हित गरिँदा इन्द्रबहादुर राईले प्रथमोप्रथम इ स १९७७ मा उनलाई प्राप्त भएको ‘साहित्य अकादमी पुरस्कार’ जस्तो सम्मान फिर्ता गरिदिएको सत्यबारे पनि सभालाई बताए। समारोहमा कवि सञ्जय बान्तवाले इन्द्रबहादुर राईको साहित्यकार व्यक्तित्वमाथि प्रकाश पार्दै राईको अपूर्व योगदानबारे चर्चा गरे। सञ्जय बान्तवाले आफ्नो मन्तव्यमा भने, – ‘इन्द्रबहादुर राईले रोमान्टिक कालदेखि उत्तरआधुनिक कालसम्म नेपाली साहित्य विकासका प्रत्येक तहमा केन्द्रीय भूमिका निभाएका छन्। नेपाली साहित्यमा ‘तेस्रो आयाम’ साहित्यलेखन-अभियानको प्रस्तावनाले युगान्तकारी कार्य गरेको छ भने यसका सिद्धान्त प्रतिपादनले नेपाली साहित्यलाई एक आवर्तक चिन्तन-पद्धति प्रदान गरेको छ। ‘तेस्रो आयाम’ बाट विस्तारित ‘लीला लेखन’ ले उत्तर संरचनावादी चरित्रको विकास गर्दै भाषिक, वस्तु तथा भावजन्य अवकासको माध्यमबाट उत्तर आधुनिकतावादी स्वरूप ग्रहण गरेको छ। इन्द्रबहादुर राईले आफ्नो जीवन साथै साहित्य लेखनको अन्तिम कालमा आएर नेपाली साहित्यको रचना र ग्रहण प्रक्रियामा ‘बुटस्ट्रयापिङ थिअरी’ लाई अनुगमन गर्न सकिने सम्भावना तथा आग्रह देखाएका छन्। ‘बुटस्ट्र‌यापिङ’ को अवधारणालाई आधुनिक ज्ञानानुशासनका प्रत्येक प्रायोगिक क्षेत्रले ग्रह‌ण गरेर उल्लेखयोग्य परिणाम प्राप्त गरेको छ। कुनै बाह्य शक्ति‌को अनुपस्थितिमा पनि वस्तुको सूक्ष्म एकाङ्शले आन्तरिक उर्जालाई अपरिमित विस्तारमा बढाउन सक्दछ भन्ने ‘बुटस्ट्रयापिङ सिद्धान्त’ को आशय छ। इन्द्रबहादुर राईले आफ्नो चिन्तन अनुसार यस क्षेत्रलाई नेपाली साहित्यमा प्रयोग गरेर चिनाउन भ्याएनन्। ‘लीला लेखन’ मा प्रमात्रा भौतिकीको अनुप्रयोग गर्ने राईको सर्जक साथै समालोचकले त्यसकै विस्तार गर्ने उपक्रम सुरु गरेको अनुमान लगाउन सकिन्छ। इन्द्र‌बहादुर राईले मौलिक साहित्य सिर्जना गरे, समालोचना लेखे। मौलिक लेखनमा साहित्य सिद्वान्तलाई प्रजननात्मक चरित्र प्रदान गरे। समालोचनामा समकालीनता, आधुनिकता, काव्यभाषा, कवितामा काल-अवकास लेखन आदि विषयमाथि गम्भीर बहस चलाए अनि दिशा देखाए।इन्द्रबहादुर राईको साहित्य अपरिमित छ। उनको साहित्य माथि उल्लेखनीय रूपमा शोध, अनुसन्धान, चर्चा आदि हुन सकेको छैन। इन्द्रबहादुर राईको साहित्यमाथि पर्याप्त चर्चा हुनसके त्यहाँ अनेकौँ तह खोलिने छन्।समाजलाई लाभ पुग्नेछ।’
यस अवसरमा कथाकार बिन्द्या सुब्बाले आफ्नो मन्तव्यमा भनिन् – ‘इन्द्रबहादुर राई एकजना सजग एवम् अथक साहित्यकार हुन्। जीवन – जगत, साहित्य-कलालाई अनन्य दृष्टिकोणबाट व्याख्या गरेर उनले व्यवहार्य्य बनाए।’ बिन्द्या सुब्बाले अझ भनिन्- ‘यस दृष्टिकोणले उनका साहित्यकार व्यक्तित्व साथै कृतित्व महान् छन्। इन्द्रबहादुर राईलाई स्मरण गर्नु अब साहित्य-समाजको उत्तरदायित्व हो।यो वर्ष पनि सालबारी, सविता गोम्देन साहित्य कक्षको तत्त्ववधानमा ‘९७औँ इन्द्रबहादुर राई जन्मजयन्ती’ पालन गरिएको छ। यो अवसर अत्यन्त सुखद् एवम् उदाहरणीय घटना हो।’ समारोहमा वरिष्ठ कविहरू मोहन ठकुरी, नोर्जाङ स्याङदेन, गोपीचन्द्र प्रधान, साहित्य अनुरागी चन्द्रप्रकाश राई, कथाकार मणिकुमार प्रधान, साहित्यकार मोनिका प्रधान, वरिष्ठ कथाकार जीतबहादुर सोनार, कवि लीलबहादुर सोनार, निर्मल सिन्चुरी, चित्रकार, कवि सुवास छेत्री, वरिष्ठ लेखक आइएन शर्मा लगायत वरिष्ठ समाजसेवी पूर्ण मगर आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement