कालचिनी। विश्व मानव तस्करी विरोधी दिवस अग्रिम रुपमा पालन गर्दै आज चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिले कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत स्थित चाइल्ड फ्रेन्डली कर्नरको आयोजनामा स्थानीय कन्या छात्रीहरुलाई समेटेर सचेतना कार्यक्रम सम्पन्न गऱ्यो।
गारोपाड़ा ग्राम पञ्चायतको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा आज सिनि द्वारा आमन्त्रित कालचिनी थानाको प्रतिनिधि एएसआई अमृत लामा लगायत गारोपाड़ा विधानचन्द्र हाइस्कूलका शिक्षक, गारोपाड़ा ग्राम पञ्चायतका सचिव अनिल मुण्डा, सहायक पल्लव कुमार दास, सिनि कालचिनी ब्लक संयोजक निउकिङ्ग रोय, सिनि सीएफसी स्टाफ भावना तामाङ, मीरा तामाङ प्रधान एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुवातमा स्थानीय छात्रीहर लगायत आईसीडीएस कर्मीहरुलाई समेटेर ग्राम पञ्चायत परिसरबाट मानव तस्करी, बाल विवाह, घरेलु हिंसा, आदि विरुद्ध एउटा ऱ्याली निकालिएको थियो।
कार्यक्रममा गाउँघरमा मानव तस्करीलाई लगाम कस्न गाउँले अभिभावक आफै सचेत बस्नु पर्ने र कुनै पनि असुविधा भए सीएफसीमा जानकारी दिने आह्वान गरिएको थियो।
कार्यक्रममा सचेतनाको क्रममा आधुनिक प्राविधिको दुरुपयोगमाथि पनि उपस्थित अतिथिहरुले स्कूले छात्रीहरुलाई जानकारी गराएको थियो।