गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले आज (४ फरवरी) पार्टीको १२औं स्थापना दिवस भव्य रूपमा रम्फू खेल मैदानमा मनायोl फरवरी २०१३ मा स्थापित भएको यो पार्टीले आज १२ वर्ष पूरा गरेको छl स्थापना दिवस कार्यक्रम पार्टीका अध्यक्ष तथा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको प्रमुख आतिथ्यमा सम्पन्न भयोl मुख्यमन्त्री पीएस गोलेले आज पार्टीको स्थापना दिवसको अवसरमा सिक्किमका सर्वसाधारणका लागि धेरै महत्वपूर्ण, बुँदाहरू घोषणा गरेl

‘मुख्यमन्त्री सञ्जवनी योजना’अन्तर्गत राज्यका सबै परिवारलाई कार्ड प्रदान गरिने र यसबाट प्राप्त तथ्यांकअनुसार कसैले केही नपाएको भए उनीहरूलाई सहयोग उपलब्ध गराउने घोषणा उनले गरेl दुई चार वर्ष सेवाकाल पूरा गरेका एडहक, एमआर, प्रोजेक्ट, ओएफओजे, आँगनबाडी र आशाकर्मीहरूलाई चाँडै स्थायी गराउने वाचा उनले गरेl मुख्यमन्त्री पीएस गोलेले शनिबारको राज्य मन्त्री परिषदको बैठकमा राज्य सरकारका कर्मचारीहरूका लागि पुरानो पेन्सन प्रणाली पुनर्स्थापित गर्ने निर्णय गरेको आज स्थापना दिवसको कार्यक्रम जानकारी दिएका छन्। उनले भने, ‘अब हामी कर्मचारीहरूको मागअनुसार पुरानो पेन्सन प्रणालीमा जान्छौँl’ विद्यमान नयाँ पेन्सन योजनाअन्तर्गत कभर गर्न चाहने सरकारी कर्मचारीहरूका लागि पनि विकल्प रहेको उनले बताएl आमा योजना अन्तर्गत ६० हजार आमाहरुलाई २५ फरवरी २०२४ अघि नै ४० हजार रुपियाँ गरेर चेक वितरण गर्ने घोषणा उनले गरेl अब चाँडै नै राज्य सरकारअन्तर्गत नवप्रवर्तन तथा दिगोपन विभाग स्थापना गर्ने अर्को घोषणा उनले गरेका छन्l उनले घोषणा गर्दै भने, ‘२५ फरवरी २०२४ भित्र प्रत्येक निर्वाचन क्षेत्रमा एसजीएवाई आवास योजनाअन्तर्गत तीन सय घर निर्माण प्रकृया शुरु गरिने छl’ ‘हाम्रो भरोसा गोले’, ‘नारीको भरोसा गोले’, ‘सिक्किमको भरोसा गोले’ जस्ता नाराहरूका आज स्थापना दिवसमा गुन्जियोl









