दार्जीलिङ: हाम्रो पार्टीको नारी शक्ति समूहद्वारा घैयाबारी प्राइमेरी हेल्थ सेन्ट्ररको जीर्णावस्थाको सन्दर्भमा आज दार्जिलिङको सीएमओएच (जिल्ला स्वास्थ्य अधिकारी) सित भेट गरी समाधानको लागि मांग गरेका छन्। स्थानीय वासिन्दाहरूले हाम्रो पार्टी कार्यालयमा जानकारी गराएपछि २६ जुलाईको दिन हाम्रो नारी शक्तिको केन्द्रीय अध्यक्ष शोभा मोक्तान र केन्द्रीय महासचिव बन्दना मंगरको नेतृत्वमा एक प्रतिनिधि टोलीले घैयाबारी प्रमाइमेरी हेल्थ सेन्ट्ररको भ्रमण गरेको थियो अनि उक्त भ्रमणकालको अवधि सुकुनाको विभागीय अधिकारीसंग पनि भेट गरेर घैयाबारी हेल्थ सेन्टरको जीर्णवस्थाबारे अवगत गराएका थिए।

यसैक्रममा आज हाम्रो पार्टीको नारी शक्ति समूहको केन्द्रीय अध्यक्ष शोभा मोक्तान र महासचिव बन्दना मंगरको नेतृत्वमा जिल्ला अस्पतालको सीएमओएचसंग भेट गरेर घैयाबारी प्राइमेरी हेल्थ सेन्टरको जीर्णावस्थाबारे जानकारी गराउँदै उक्त हेल्थ सेन्टरको बारेमा उचित कदम उठाई दिने निवेदन गरेका छन्। यस विषयमा सीएमओएचले तुरून्तै पहल गर्ने वचन दिएको हाम्रो नारी शक्ति समूहको महासचिव बन्दना मंगरले बताएकी छन्। दागोपापको शासनकालमा घैयाबारी हेल्थ सेन्ट्ररको निर्माण गरिएको हो। त्यस अवधि हेल्थ सेन्टरमा तीनजना डाक्टरहरूले रोगीहरूको जाँच गर्ने गर्थे अनि महिलाहरूको डेलिवेरी लगायत सानो तिनो अपरेशनहरू समेत गर्ने गरिन्थ्यो तर विगत तीन चार सालदेखि यता घैयाबारी हेल्थ सेन्टरमा केवल एकजना मात्रै डाक्टरले सप्ताहको तीन दिन मात्र रोगीहरूको जाँच गर्दै आई रहेको जानकारी गराएका छन्।

त्यसरी नै नर्सहरूको अभावमा पनि घैयाबारी हेल्थ सेन्टर रहेको र यी सबै समस्याहरू सीएमओएच समक्ष हाम्रो नारी शक्ति समूहको प्रतिनिधि टोलीले राख्दा सीएमओएचले यी सबै समस्याहरूको समाधान गरिदिने वचन दिएको नारी शक्ति समूहको महासचिव मंगरले बताएकी छन्। हाम्रो नारी शक्ति समूहको प्रतिनिधि टोलीले सीएमओएच समक्ष घैयाबारी हेल्थ सेन्ट्ररको समस्याहरू राखेको केही घटनापछि सम्बम्धित विभागले घैयाबारी हेल्थ सेन्टरको समस्याको समाधान हेतु एक अधिसूचना जारी गरेको जानकारी प्राप्त भएको छ।