काेलकाता: महानगरस्थित एमएलए होस्टेलमा शनिवार बिहान एक विधायकका सुरक्षा गार्डको शव भेटिएपछि खैलाबैला मच्चिएको छ। प्राप्त जानकारी अनुसार शनिवार बिहान लगभग ५ बजे एमएलए होस्टेलको गेट नम्बर २ को क्याम्पसमा केही झरेको आवाज सुनियो।
खोज-तलास गर्दा पुरूलियाको बंदवानका विधायक राजीव लोचन सोरेनका सुरक्षा गार्डको शव बालकनी नम्बर ४१९ देखि तल भूइँमा झरेको भेटियो। पुलिस सूत्र अनुसार मृतकको नाम जयदेव घराई थियो जो राज्य पुलिसका कन्स्टेबल थिए।
सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। फोरेन्सिक टीमका विशेषज्ञहरू पनि घटनास्थलमा पुगे। शवलाई कब्जामा लिई पोस्टमर्टमको निम्ति पठाइयो। सुरक्षा गार्ड कसरी बालकनीबाट झरे वा कसैले तिनलाई धकेलेका हुन् यस सम्बन्धमा असमञ्जस्यताको स्थिति कायम छ। फोरेन्सिक टीमले दुर्घटनास्थलबाट नमूना जुटाएको छ। जाँचकर्ताहरूको भनाइ छ, सुरक्षा गार्डको मृत्युको कारण पोस्टमर्टमको रिपोर्ट आएपछि मात्र थाहा लाग्नेछ। पुलिस उपायुक्त पनि घटनाको खबर सुनेर घटनास्थलमा पुगे।











