गान्तोक: आगामी ४ फरवरीमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो १२औं स्थापना दिवस रम्फूको खेल मैदनमा भव्य रूपमा पालन गर्ने भएको छ। कार्यक्रमको तयारीलाई लिएर अन्तिम समीक्षा बैठक आज पाक्योङ जिल्ला अन्तर्गत रम्फूस्थित कार्यक्रम स्थल मै सम्पन्न भयो।
आउँदो १२औँ स्थापना दिवसलाई भव्य सफल बनाउन विगत सभामा छलफल गर्दै सुम्पिएको विभिन्न मन्त्रीहरूको नेतृत्वमा गठन गरिएको टोलीलाई जिम्मेवारी तथा कार्य हस्तान्तरण बारे अन्तिम जानकारी लिइयो। यसपालीको पार्टी स्थापना दिवस चुनावी सङ्घारमा भएकाले उक्त दिन लाखौं सिक्किमे जनताको उपस्थिति रहने भएकोले जनतालाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उदेश्यले हरेक सुबिधा उपलब्ध गराउन हरेक ठाउँमा पार्टी भोलेन्टियर खटाइएको अनि प्रत्येक जिल्ला अनुसार पार्किङ सुविधाको व्यवस्था गरिएको सभामा जानकारी गराइयो। सुविधापूर्ण ढंगमा जनतालाई रम्फू मैदान कार्यक्रम स्थलमा पुग्न सहजीकरण गर्ने सम्बन्धी जानकारी गराउन प्रहरी प्रहरी निरीक्षक स्थानीय प्रशासनलाई पनि सभामा निम्त्याएर कार्यक्रमबारे जानकारी गराइयो। आज सम्पन्न शीर्ष समन्वय बैठकलाई पार्टीका सेक्रेटरी जेनरल तथा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले अध्यक्षता गरेका थिए। अध्यक्ष उप्रेतीले यसपालीको स्थापना दिवसलाई सबैको समन्वयमा सफल बनाउनुपर्ने विचार राख्दै सबै कार्यकर्ताले अघि आएर आ-आफ्नो दायित्व निर्वाह गरी आफ्नो परिवारको कार्यक्रम रहेको अनुभव गरेर अनुसाशनपूर्वक काम गरिदिने अनुरोध गरे। उनले विशेष गरेर भोलेन्टियरहरुले आफ्नो आफ्नो जिम्मेवारी सठिक ढंगमा निर्वाह गर्नुपर्ने कुरामाथि जोड दिँदै जस जसलाई आफ्नो कार्यभार सुम्पिएको उक्त कामलाई सबैले धर्म सम्झेर निर्वाह गरिदिने अपील पनि गरे।
कार्यक्रममा मन्त्री सन्जीत खरेलले यातायात सम्बन्धी विभिन्न विषयमाथि स्पष्ट पार्दै मुख्यमन्त्रीको स्वागत कार्यक्रम राजधानीदेखि रम्फू सम्मको रुटम्याप सम्बन्धी जानकारी दिए। पार्किङ सम्बन्धी हरुण लिम्बुले जानकारी दिए भने कार्यक्रममा उपस्थित शीर्ष व्यक्तित्वहरूले आ-आफ्नो विचार, अवधाणा साझा गर्दै विभिन्न सल्लाह अनि सुझाव पनि दिए। बैठकमा मन्त्री सन्जीत खरेल, मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत, एपीएस पाक्योङ बिसाल पोख्रेल, गान्तोक नगर निगम मेयर निल बहादुर छेत्री, युवा अध्यक्ष लाक्पा मोक्तान, प्रमुख युवा संयोजक सहदेव शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।