गान्तोक: राज्य सरकारको शिक्षा विभागले राष्ट्रिय पुरस्कार विजेता डा. पूर्णबहादुर छेत्री, सरकारी एसएसएस सोरेङका प्रचार्यलाई सिंगापुर र मलेसियाको १० दिने अन्तरराष्ट्रिय शैक्षिक भ्रमणमा पठाएको छ।
शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङका सचिव सुमिता प्रधानले उनको अन्तरराष्ट्रिय भ्रमणबारेमा केही जानकारी गराए पश्चात शिक्षा विभागको अतिरिक्त मुख्य सचिवको कार्यालयमा विदाई कार्यक्रम आयोजना गरिएको थियो।
यस अवसरमा शिक्षा विभागका अतिरिक्त निर्देशक भीम ठटाल, संयुक्त निर्देशक अनुग्रह राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। अन्तरराष्ट्रिय भ्रमणको क्रममा डा. छेत्रीले सिङ्गापुर, मलेसियाको विभिन्न मोडन विद्यालयहरूको भ्रमण गरेपछि त्यहाँबाट लिएको ज्ञान एवम शिक्षा राज्यको विद्यालयहरूमा लागू गर्नेछन्।
यो सिक्किमको विश्वव्यापी रूपमा अरूबाट सिक्ने र राज्यको शिक्षा प्रणालीलाई अझ राम्रो बनाउने प्रयासको एक अङ्ग रहेको बताइएको छ। राष्ट्रिय पुरस्कार प्राप्त शिक्षकहरूको लागि अन्तरराष्ट्रिय एक्सपोजर भ्रमणको योजना राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले ५ सेप्टेम्बर २०२२ मा शिक्षक दिवसको अवसरमा घोषणा गरेका थिए। यो अन्तरराष्ट्रिय शैक्षिक एक्सपोजर यात्राको दोस्रो संस्करण हो।