गान्तोक: गत २७ जनवरीको दिन मामरिङमा आयोजित एसकेएम पार्टीको जनसभाबाट एसडीएफ २.० सिक्किम बाहिरबाट सञ्चालन हुँदैछ भन्दै एसकेएम प्रवक्ता जेकब खालिङले लगाएका आरोपमा एसडीएफ पार्टीले प्रतिक्रिया दिएको छ।
आज बिहिवार गान्तोकको एसडीएफ भवनमा आयोजित पत्रकार सम्मेलनमा एसडीएफ पार्टीको प्रचार प्रसार साखाका उपाध्यक्ष एमएन दहालले जेकब खालिङको आरोपमाथि जवाब दिंदै राजनीति, विचार र वौद्धिकतालाई कुनै सीमाभित्र बाँधेर राख्न नसकिने बताए।
जानकारी गराइन्छ, एसकेएम प्रवक्ता खालिङले राज्यबाहिर कार्यशाला आयोजन गरेर युवाहरूलाई समाज विरोधी र महिलाको चरित्रहत्या गराउने तालिम दिएको साथै एसडीएफ पार्टी पनि राज्यबाहिरका मानिसहरूको सहयोगमा बाहिरबाट नै सञ्चालन भइरहेको आरोप लगाएका थिए। खालिङको आरोपमाथि जवाफ दिंदै एसडीएफ उपाध्यक्ष एमएन दहालले सकारात्मक राजनीति गर्दै एसडीएफ २.० लाई कसरी निर्माण गर्ने भन्ने सम्वन्धमा पार्टीका १२० युवा कार्यकर्तालाई तालिम दिएको र तालिममा उठेका विषयलाई ”मार्दर्शिका-१, एसडीएफ कार्यदिशा” नामक पुस्तिका प्रकाशित गरेर सिक्किमभरी वितरण गरेको बताए।
२८ देखि ३० अप्रेल २०२३ मा कालेबुङमा र ५ देखि ९ मई २०२३ मा डुवर्समा मिसन जागृत समाजका अध्यक्ष सीके श्रेष्ठले कार्यशाला सञ्चालन गरेको जानकारी दिंदै उक्त कार्यशाला समाजमा बिचलन पैदा गराउन होइन राजनीतिमा युवाहरूको दक्षता अभिवृद्धि गर्न आयोजन गरिएको बताए। तथापि कार्यशालाले समाजमा बिचलन पैदा गरेको लाग्छ भने सरकार पक्षले भाषणमा होइन कारबाही गरेर देखाउनुपर्ने दाहालले बताए।
एमएन दहालले भने, हामीले लुकेर बन्दुक बोक्ने तालिम गरेर आएका छैनौ। मिसन जागृत समाजका प्रमुख सीके श्रेष्ठको तालिम लिएका हौं। सीके श्रेष्ठ भारतीय नेपाली समाजका शिखर पुरुष हुन्, उनीबाट राम्रो कुरा सिक्नु अपराध हो? जेकब खालिङले जवाफ दिनुपर्छ।
कुनै पनि आरोप लगाउन अघि सम्बन्धित विषयको मूल जढसम्म पुगेर पत्तो लगाएर मात्रै बोल्नुपर्ने एसडीएफ उपाध्यक्ष एमएन दहालले सरकारलाई सुझाउ दिए।
राज्य बाहिर कार्यशाला आयोजनको औचित्यमाथि बोल्दै दहालले भने, ज्ञान जहाँ छ हामी त्यही गएका हौं। सिक्किम कार्यशाला आयोजन गर्नु सम्भाव थिएन। हामीले तीन तीन दिनको कार्यशाला सिक्किममा आयोजन गरेको भए आयोजनास्थल नै फुटाइने थियो, त्यसैले मिसन जागृत समाजले निर्धारित गरेको स्थानमा हामी गएका हौं। हामीले ज्ञान आर्जन गर्न सरकारको अनुमति लिनुपर्छ? राष्ट्रविरोधी कार्यशाला गरेको होइन, आतङ्ककारी कुरा सिक्न गएका होइनौं। जनतालाई भ्रमित राख्न ”बगमफुस्से” कुरा सरकार पक्षले गर्नु नहुँने एमएन दहालले बताए।
एसडीएफ २.० ले राजनीतिलाई कुनै सीमाभित्र बांधेर नहेर्ने अनि सिक्किमको हितसँग सम्झौता पनि नगर्ने एसडीएफ उपाध्यक्ष एमएन दहालले ठहर गरेका छन्। राजनीतिलाई सीमाभित्र बांधेर राख्न सकिँदैन भन्दै उनले एसकेएम पार्टीको आधार सिक्किम बाहिर तयार भएको र पार्टी पनि राज्य बाहिरनै गठन भएको थियो भन्ने उनले दाबी गरे।
एक समय एसकेएम पार्टीमा प्रचार प्रसार साखाको उपाध्यक्ष समेत एमएन दहालले एसकेएम पार्टी गठन गर्न अघि पिएस गोलेको सुझाउमा आफूहरु विचार र आइडिया बटुल्न नेपालसम्म गएर त्यहाँका केही सांसदहरूसंग पनि चर्चा गरेको भन्दै एसकेएम पार्टी गठनको अवसरमा वितरण गरिएको ”परोक्ष संदेश” सिक्किम बाहिरका शुभ प्रधान नामक व्यक्तिद्वारा लेखिएको र अन्य कार्यमा पनि वर्तमानमा खरसाङका विधायक बीपी बजगाईं र अन्यको प्रत्यक्ष सहभागिता रहेको दाहालले दाबी गरेका छन्। राजनीतिलाई सानो परिधिमा बाँधेर नहेर्ने उनले एसकेएमलाई सुझाउ दिए भने एसडीएफले राज्य बाहिर कार्यशाला आयोजन गरेर गल्ति गरेको छ भने झट्टै कारबाही गरेर देखाउनु भने।