खरसाङ: स्वतन्त्रता सेनानी पुतली देवीमाथि बनिएको फिल्म १९४५ बिहाइन्ड द माउन्टेन शुक्ररबारदेखि खरसाङको सिनेमा हलमा पनि लाग्ने भएको छ। स्वतन्त्रता सेनानी पुतलीदेवी खरसाङकी हुन्। उनीमाथि बनिएको उक्त फिल्म गत २६ जनवरीदेखि कोलकोता, सिक्किम, आसाम, सिलगढी र दार्जीलिङमा चलिरहेको छ भने यता खरसाङमा शुक्रबारदेखि प्रत्येक दिन दिउँसो २ बजेदेखि लाग्ने भएको छ। उक्त जानकारी आज खरसाङमा पत्रकार सम्मेलनमा फिल्मका निर्देशक प्रान्तिक चक्रवर्तीले दिएका छन्। फिल्म १९४५ बिहाइन्ड द माउन्टेनका निर्देशक प्रान्तिक चक्रवर्तीले पत्रकारहरूलाई सम्बोधन गर्दै खरसाङकै स्वतन्त्रता सेनानी पुतलीदेवीमाथि बनिएको फिल्म साथै त्यसबेला गोर्खाहरूकै संघर्षको कुरा भएकोले खरसाङका दर्शकहरूले यस फिल्मलाई माया दिनुहुन्छ होला भन्ने आशा व्यक्त गरेका छन्। उनले बताए अनुसार यस फिल्ममा स्थानीय गोर्खा कलाकारहरू कालेबुङ निवासी नायिका रिया भुजेल, मणिकुमार भुजेलले पनि अभिनय गरेको जानकारी गराउँदै पुतलीदेवीको मुख्य भूमिकामा राजन्य हल्दार रहेको पनि बताए। यो फिल्म गत २६ जनवरीमा रिलिज भएर सिक्किम र दार्जीलिङबाट राम्रो रेस्पोन्स आएको र अब खरसाङबाट पनि राम्रो रेस्पोन्स आउने बताएका छन्।

निर्देशक चक्रर्तीले यो फिल्म एकदमै भिन्नै प्रकारको रहेको र यसको छाँयाकन सबै रिम्बिकमा गरिएको बताएका छन्। भविष्यमा स्वतन्त्रता सेनानी पुतलीदेवी, हेलेन लेप्चा लगायत अन्यमाथि ब्यायोपिक बनाउने इच्छा रहेको जानकारी गराउँदै यो फिल्मलाई सबैले माया गरिदिने निवेदन गरेका छन्।