चामलिङले घोलेको जातिय विषलाई मुख्यमन्त्री तामाङले हटाएको छः जेकब खालिङ
गान्तोक: गत ८ जनवरीदेखि राज्यको विभिन्न समष्टिमा धारावाहिक रूपमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सांगठनिक एवम् समष्टिस्तरीय जनसभा आज तिमी नाम्फिङ निर्वाचन क्षेत्रमा भव्यरूपमा सम्पन्न भयो।
आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा किसान मोर्चाका उपाध्यक्ष प्रभारी एवं मन्त्री लोकनाथ नेपाल उपस्थित थिए भने बिशिष्ट अतिथिकोरुपमा क्षेत्र विधायक एवं मन्त्री बीएस पन्त, संगठनका मुख्य संयोजक एवं प्रवक्ता जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवं संगठनका मुख्य संयोजक जेकब खालिङले यो समष्टिमा चुनावी अभियानको शुरू आजदेखि भएको घोषणा गरे। यहाँको सीएलसी, वार्डस्तरीय समिति, खण्ड स्तरीय समितिले अब क्षेत्रको प्रत्येक घर घरमा पुगेर सिक्किम निर्माणको निम्ति सरकारले गरेका विभिन्न कार्यहरुबारे विस्तृत रूपमा बताउनुपर्ने निर्देशन दिए।
यो समष्टिले वर्ष २०१९ मा सरकार निर्माण गर्न एसकेएम पार्टीको उम्मेदावरलाई विजय बनाएर ठूलो योगदान दिएको पनि खालिङले आफ्नो सम्बोधनमा उल्लेख गरे। अब दक्षिण जिल्लाको ८ वटै निर्वाचन क्षेत्रलाई जीत दिलाउने जिम्मेवारी आज उपस्थित जनताले लिएर जानुपर्ने बताए।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले यो निर्वाचन क्षेत्रमा कञ्चनजंगा विश्वविद्यालय निर्माण गरेको र अब विश्वमा नै तिमी तार्कु क्षेत्रलाई चिनाउन सक्ने उनले विश्वास व्यक्त गरे। यो क्षेत्रमा विश्वविद्यालय निर्माण गर्नको निम्ति क्षेत्र विधायकले धेरै कसरत गरेको पनि उनले बताए।
पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किममा घोलेको जातिय विषलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले हटाएर राज्यमा जातिय सदभावनाको विजारोपण गरेर सिक्किमलाई एकताको सूत्रमा बाँधीसकेको किटान गरे। अहिले फेरि सिक्किम निर्माण गर्ने नारालाई लिएर सिक्किमलाई जात जातमा विभाजन गर्न खोजिरहेको तर यस्तो दुस्साहसलाई सिक्किमे जनताले नकार्नु पर्ने आग्रह गरे।
यसरी नै सभालाई सम्बोधन गर्दै मन्त्री नेपालले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किमे जनताको हितमा गरेको विभिन्न योजनाहरूबारे उपस्थित जनसमुहलाई अवगत गराए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किमको हरेक तप्काको मानिसहरुको निम्ति काम गरिरहेको उनले बताए। सरकारले गरीब खेती किसान गर्ने अनि ग्वालाहरूको आर्थिक स्थितिलाई सुदृढ गर्न प्रोत्साहन राशि दिने कार्य शुरु गरेको बताउँदै यो अभूतपूर्व योजना अन्य कुनै राज्यमा नभएको पनि उनले किटान गरे।
आजको सभालाई क्षेत्र विधायक बीएस पन्त, प्रवक्ता योगेन तामाङ, नारी मोर्चाकी नेत्री दिना क्षेत्री, दक्षिण/उत्तरमा संगठनका उपाध्यक्ष ओटी लेप्चा लगायत अन्यले पनि सम्बोधन गरेका थिए।