कोलकाताः आगामी लोकसभा चुनाउपूर्व पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले मङ्गलवार राज्यको उत्तरी भागमा पदयात्रा गरिन्। मुख्यमन्त्री ब्यनर्जी यसघड़ी प्रशासनिक भ्रमण अन्तर्गत उत्तर बंगालमा छन्। उनले पहिला उत्तर दिनाजपुरको चोपड़ा शहरमा ”जन संयोग यात्रा” निकालिन्, त्यसपछि नजिकैको इस्लामपुरमा फेरि अर्को यात्रा गरिन्।
चोपड़ा शहर भएर गुज्रिने क्रममा मुख्यमन्त्री ब्यनर्जीले सड़क किनारमा भेला भएका मानिसहरूलाई हात जोड़ेर अभिवादन गरिन्। यात्रा अवधि पार्टी नेता, महिला एवं बाल-बालिकाहरू सहित स्थानीय मानिसहरूलाई उनलाई स्वागत गरे। उनको यात्रा विभिन्न क्षेत्र भएर गुज्रिरहेको बेला त्यहाँ भेला भएका मानिसहरूलाई ”दीदी, दीदी”- को नारा लगाउँदै गरेको देखियो। केही मानिसहरूले फूल वर्षाए भने केहीले शङ्ख बजाए। ममता ब्यनर्जीले स्थानीय मानिसहरूसित बातचित पनि गरिन्।
तृणमूल समर्थकहरूले आ-आफ्नो हातमा पार्टीको झण्डा समातेका थिए। तृणमूल कंग्रेसले उत्तर बंगालमा आफ्नो गुमेको धरातललाई फर्काउनको लागि यथासम्भव प्रयास गरिरहेको छ। पछिल्लो लोकसभा चुनाउमा भारतीय जनता पार्टीले यस क्षेत्रका आठवटा लोकसभा सीटमध्ये सातवटामा जित हासिल गरेको थियो।
एक वरिष्ठ पुलिस अधिकारीले भने, मुख्यमन्त्रीले आज बिहान चोपड़ा शहरमा तृणमूलको पदयात्रा अन्तर्गत ”जन संयोग यात्रा” गरिन्। वर्तमानमा उनी इस्लामपुरमा छन् जहाँ उनले फेरि अर्को यात्रा गरेकी छन्। उनले स्थानीय मानिसहरूसित बातचित गरिन् अनि उनीहरूलाई अभिवादन पनि गरिन्।
पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्री ब्यनर्जीले भनिन्, उनको यात्रा अत्यन्त सकारात्मक रह्यो। राहुल गान्धीको ”भारत जोड़ो न्याय यात्रा”-माथि प्रश्न गर्दा उनले जवाफ दिइनन्। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले गत वर्षको अप्रेल महिनामा ”जन संयोग यात्रा” शुरू गरेका थिए, त्यसपछि उनले दुई महिनाभित्रमा राज्यभरि नै यात्रा गरेका थिए।
-हिस