गान्तोक: राज्यका शिक्षा विभाग एवम भू- राजस्व एवम आपदा प्रवन्धन विभाग मन्त्री केएन लेप्चाले सिङतामका अग्निपीढित परिवारलाई क्षतिपूर्ति प्रदान गरे। मन्त्री लेप्चाले एसडीआरएफको नियम अनुसार आगलगीमा जस-जसको क्षति भएको थियो उनीहरूलाई राहत राशि प्रदान गरेका हुन्। उल्लेखनीय छ, हिजो २९ जनवरीको राति सिङतामको पान दोकानमा आगलगी भएको थियो भने उक्त आगोले दुईवटा सब्जी दोकान र दुई वटा घरलाई समेत प्रभावित तुल्याएको थियो। सिङतामको मन्डी बजारमा हिजो आगलगी हुँदा धेरै सम्पति नष्ट भएको थियो। यस घटनाको सूचना पाउनसाथ मन्त्री सोनम लामा, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अधिकारीहरू बिहानै घटनास्थलमा पुगेर घटनाको जायजा लिनको साथै क्षतिपूर्तिको पनि विवरण संकलन गरेका थिए। यसै क्रममा आज नै सम्वन्धित विभागका मन्त्री केएन लेप्चाले घटनास्थलमा पुगेर पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गरेका हुन्। यस अवसरमा विभिन्न विभागका अधिकारी लगायत सिङताम नगर पञ्चायतका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।









