गान्तोक: आज राज्यको विभिन्न सरकारी कार्यालयहरूलमा शहीद दिवस सामन्य ढङ्गमा पालन गरियो। देश स्वतन्त्रताको निम्ति आफ्नो प्राणको आहुती दिने ती महान शहीदहरूको निम्ति प्रत्येक वर्ष ३० जनवरीको दिन शहीद दिवसकोरूपमा पालन गर्ने गरिन्छ। यसै क्रममा आज मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा जिल्लापाल हेम कुमार छेत्रीको नेतृत्वमा शहीद दिवस पालन गरियो। सोही प्रकारले पाकिम जिल्लामा पनि जिल्लापाल टाशी छोपेलको उपस्थितिमा शहीद दिवस पालन गरियो। उक्त अवसरमा अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, महकुमा अधिकारी महेन्द्र अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसै क्रममा गान्तोक जिल्लाको सूचना एवम सम्पर्क विभागको कार्यालयमा पनि शहीद दिवस पालन गरिएको छ। यस अवसरमा विभागकी सचिव कर्मा डी. यूत्सो लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। उक्त अवसरमा शहीदहरूको स्मरणमा एक मिनटको मौन धारण पनि गरियो।

सोही प्रकारले टाशीलिङ सचिवालयमा पनि शहीद दिवस पालन गरियो भने उक्त अवसरमा राज्यका मुख्य सचिव भीबी पाठक लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। यसै क्रममा सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पनि जिल्लापाल हिस्से डी. योङदाको उपस्थितिमा शहीद दिवस पालन गरियो।