गान्तोक: हिजो राति सिङतामको एक पान दोकानमा आगो लाग्दा केही सब्जीको दोकान र दुईवटा घरलाई पनि केही क्षति पुगेको छ। तर आगलागी परि कुनै पनि मानिसहरूलाई चोटपटक नलागेको बताइएको छ। आगलगीको घटनाको सूचना पाउनसाथ छेउमा रहेको अग्निशमन विभाग, रम्फूको अग्निशमन विभाग घटनास्थलमा पुगेर आगालाई नियन्त्रणमा लिएको जानकारी गराइएको छ। आगो नियन्त्रण गर्ने क्रममा सिङताम पुलिस, सेनाहरू पनि खटिएका थिए। यसरी नै सिङताम नगर पञ्चायतका अध्यक्ष लगायत स्थानीयहरूले पनि धेरै सहयोग पुऱ्याएका थिए। उक्त घटना पछि जिल्ला प्रशासन गान्तोकले घटनाको विवरण तयार गरिरहेको छ। गान्तोक जिल्लाका जिल्लापाल एवम जिल्ला आपदा प्रबन्धन प्राधिकरणले पीडित परिवारलाई एसडीआरएफको नियम अनुसार क्षतिपूर्ति प्रदान गर्ने भएको छ।