जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानद्वारा जमीनको अवलोकन
सिलगढी: अन्ततः सिलगढीमा गोर्खा श्रमिक भवन निर्माण हुने भएको छ। आज जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले दार्जीलिङ मोड नजिकमा गएर १० कठ्ठा जमीनको अवलोकन गरेका छन्। जीटीएका अभियन्ताहरूले आज जमीनको नापजोक पनि गरेका छन्। केही दिनभित्रमा भवन निर्माणको कार्य सुरु हुने भएको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भने, हाम्रो निरन्तर प्रयास अनि हामीले दिएको वचन अनुसार सिलगढीमा गोर्खा श्रमिक भवनको निर्माण हुने भयो। पहाडका श्रमिकहरू सिलगढीमा उपचारको निम्ति आउँछन् , श्रमिकका नानीहरू परीक्षा दिनु आउँछन्। तर यहाँ आउँदा उनीहरूको निम्ति बस्नुको प्रबन्धन नै छैन। त्यो समस्या अब गोर्खा श्रमिक भवन निर्माण पश्चात रहने छैन।’ उनले अघि भने, ‘मैले सरकारसँग यो समस्या विषय बारम्बार चर्चा गरे। त्यही चर्चालाई निरन्तरता दिँदै हिजो मात्र श्रम मन्त्री मोलाय घटकसँग हाम्रो बैठक बस्यो। बैठकमा सरकारले गोर्खा श्रमिक भवन निर्माण गर्न सहयोग गर्ने वचन दिनु भयो।’

उनले अझ भने, ‘स्मरण रहोस् कोविड कालमा चिया श्रमिकहरुको सहयोगको निम्ति जीटीए चेयरम्यान कोषमा केही रकम जमा गरिएको थियो। कोविड कालमा चिया बगानले राहत थाप्नु पर्ने मर्का सहनु परेन। त्यसैले जीटीए सभामा राहतको पैसालाई श्रमिक भवन बनाउन प्रयोग गरिने प्रस्ताव लिइएको थियो। रकमको प्रयोगमाथि धेरै बहस पनि भयो। गत दसैँको समय सबैको परामर्शमा बन्द चियाबगानका श्रमिकहरुलाई हामीले त्यो राहतको कोषको रकम वितरण गरेका थियौँ।’









