जयपुर: राजस्थानमा हिजाबको विवादलाई लिएर राजनीति गर्मिएको छ। अब राजस्थानका शिक्षामन्त्रीले पनि यस विषयमा आफ्नो अडान स्पष्ट गरेका छन्। उनी हिजाबको पक्षमा नभएको बताउँछन्। ‘उनीहरूले तोकिएको पोशाकको पालना गर्नुपर्छ। तोकिएको पोशाक लगाएर विद्यालय आउनु पर्नेछ, अन्यथा शिक्षक तथा छात्रालाई कारबाही गरिने छ’, शिक्षामन्त्री मदन दिलावरको यो बयानपछि यस विषयलाई लिएर राज्यमा राजनीति गरिएको छ।
हिजाबको विवाद चर्किएपछि शिक्षामन्त्री मदन दिलावरले आज यस्तो अभिव्यक्ति दिएका हुन्। उनले विद्यालयको ड्रेस कोड पालना गर्नुपर्ने बताए। यससँगै उनले भने, ‘सरकार ‘सरकार’ नै हुन्छ। उसको आदेश कसरी पालना गराउन पर्छ त्यो उसलाई थाहा छl’ यसबाट राज्यका विद्यालयहरूमा हिजाबमाथि प्रतिबन्ध लगाउने सम्भावना बढेको स्पष्ट हुन्छ। हिजाबको विवाद बढेपछि शिक्षामन्त्रीले हिजाबका सम्बन्धमा अन्य राज्यका विद्यालयको अवस्था पत्ता लगाएर प्रतिवेदन बुझाउन शिक्षा विभागलाई निर्देशन दिएका थिए। यसअघि भजनलाल सरकारका वरिष्ठ मन्त्री डा. किरोडीलाल मीनाले यस विषयमा बयान दिएका थिए। उनले यस विषयमा मुख्यमन्त्रीसँग कुरा गर्ने बताए। उनले सबै विद्यालयमा एउटै ड्रेस कोड हुनुपर्ने बताए। मन्त्री मीनाले हिजाबलाई समर्थन गर्नेहरूले मुस्लिम समुदायका केटीहरूले शिक्षा पाएको चाहँदैनन् भन्ने आरोप लगाए। इतिहास उद्धृत गर्दै मीनाले मुगल आक्रमणकारीसँगै हिजाब र बुर्का भारतमा आएको बताएका छन्। वास्तवमा, हालै जयपुरको हवामहल विधानसभा क्षेत्रका भाजपा विधायक बालमुकुन्द आचार्य शहरको गंगापोलस्थित विद्यालयमा आयोजित कार्यक्रममा गएका थिए। त्यहाँ उनले विद्यालयका कर्मचारीलाई हिजाबबारे सोधेका थिए, ‘यहाँ किन दुई किसिमको वातावरण देखिएको छ? एउटा हिजाब र अर्को सामान्यl’ त्यहाँ भएको चर्चापछि विद्यालयका मुस्लिम छात्राहरु आक्रोशित भई आफन्त र समुदायका सदस्यसहित सुभाषचोक पुलिस चौकी घेराउ गरेका थिए। विधायकले माफी माग्नुपर्ने उनीहरूको माग थियो।









