खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सत्र माइल युउथको आयोजनामा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि लिंकन क्लब सिपाहीधुराले जितेको छ। गत २२ जनवरीदेखि शुरु भएको समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको आज भएको फाईनल खेल लिंकन क्लब सिपाहीधुरा र राजबारी बोइसमाझ सम्पन्न भएको थियो। लिंकन क्लब सिपाहीधुराले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाएको थियो। सिपाहीधुराको पक्षमा निश्चल शर्माले सर्वाधिक नटआउट 53 रनको अर्ध शतकीय पारी खेलेका थिए भने कप्तान प्रणेस प्रधानले १९ र संगम संगम प्रधानले १६ रन बनाएका थिए। राजबारीको पक्षमा सर्वाधिक २ विकेट प्रयास प्रधानले लिएका थिए। १३५ रनको विशाल लक्ष्यलाई खेदो गर्दै राजबारी बोइसको शुरुदेखि नै विकेटको पतन हुनथाल्यो। राजबारीले १४ ओभर २ बलमा आफ्नो सबै विकेट गुमाएर केवल ८८ रन मात्र बनाउन सकेको थियो अनि लिंकन क्लबले ४६ रनले सजिलै म्याच जितेर खिताब आफ्नो नाममा गरेका थिए। राजबारी बोइसको पक्षमा सर्वाधिक मेसाङ तामाङले २१ रन, प्रज्वल प्रधानले १९ रन बनाएका थिए। सिपाहीधुराको पक्षमा जयन्त जैयवालले सर्वाधिक ३ विकेट अनि योगेन कार्की र संगम प्रधानले २-२ विकेट लिएका थिए। आजको फाईनल खेलमा मुख्य अतिथिको रूपमा जीटीएको युवा मामिला अनि खेलकूद विभागको एमओडी सभासद एंव तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, शिक्षक बिजय मंगर, समाजसेवी कुमार रुचाल र सचिन रिजाल लगायत अन्यहरू उपस्थित रहेका थिए।

फाईनल खेलमा विजेता दल लिकंन क्लब सिपाहीधुरालाई प्रमुख अतिथि सभासद नवराज छेत्री र सचिन रिजालको बाहुलीबाट ट्रफीसहित नगदराशि प्रदान गरियो। फाईनल खेलमा म्यान अफ् द म्याच सिपाहीधुराको निश्चल शर्मा चयन भएका छन् भने उनले बेस्ट विकेट किपर र सर्वाधिक रन बनाउने खेलाड़ीको खिताब पनि जितेका छन्। त्यसरी नै सर्वाधिक विकेट लिने राजबारीको खेलाड़ी मेसाङ तामाङ चयन भएका छन् भने बेस्ट क्याच राजबारीकै सपन सेवालाई प्रदान गरिएको छ। त्यसरी यस टुर्नामोन्टको फेयर प्ले अवार्ड मालुटारको टिमलाई चयन गरियो।

आजको फाईनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक १७ माइल युउथ् तीनधारेको पक्षमा अबेस राईले विस्तृत रूपमा बताएका छन्।