अम्रुत २.० कार्यक्रम आयोजित

गान्तोक: राज्य शहरी विकास विभागले गान्तोक स्मार्ट सिटी विकास लिमिटेडको संयुक्त तत्वावधानमा बिहिवार राजधानी छेउ सेलेप ट्याङ्कीमा विरूवा रोपण एवं संवेदीकरण कार्यक्रम (अम्रुत २.०) आयोजन गऱ्यो। आजादीको अमृत महोत्सवको ब्यानरमा आयोजित उक्त कार्यक्रमको उद्देश्य जल संसाधनहरूको महत्वमाथि जागरूकता फैलाउनु रहेको थियो।

राङगाङ याङगाङ निर्वाचन क्षेत्रकी विधायक राजकुमारी थापा यस कार्यक्रममा मुख्य अतिथि थिइन्। यसै गरी शहरी विकास विभागका सचिव एमटी शेर्पा, गान्तोक नगरपालिका आयुक्त एचके छेत्री, स्मार्ट सिटीका सीईओ लाक्पा शेर्पा, राजधानीको पॉंच सरकारी विद्यालयका शिक्षक अनि विद्यार्थीहरू पनि उपस्थित थिए।

मुख्य अतिथि विधायक थापाले मानिसको जीवनमा पर्यावरण र जलको महत्व अनि आवश्यकतामाथि प्रकाश पारे। उनले जलवायु परिवर्तनले पर्यावरणमाथि व्यापक प्रभाव पारिरहेको पनि आफ्नो सम्बोधनमा बताइन्। उनले विद्यार्थीहरू सिक्किमका भविष्य हुन् भन्दै विद्यार्थीहरूलाई रचनात्मक गतिविधिहरूमा संग्लन बन्न सुझाउ राखिन्।

उनले विरूवा रोपण कार्यक्रमको सराहना गर्दै आज लगाइएका विरूवाहरूको हेरचाह अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले आज लगाइएका १०० मध्ये कम्तिमा पनि ६० वटा विरूवा बाचेको हुनुपर्छ तब मात्र आजको कार्यक्रम सार्थक बन्ने विचार व्यक्त गरिन्। उनले विद्यार्थीहरूलाई कुनै पनि काम गर्दा मनबाटै गर्न सुझाउ दिइन्।

सचिव शेर्पाले आफ्नो सम्बोधनमा अम्रुत २.० को उद्देश्यमाथि प्रकाश पारेका थिए। उनले शहरी क्षेत्रमा जल वितरण प्रणालीबारे अवगत गराउनका साथै जलको महत्वमाथि जागरूक गर्न आज कार्यक्रम आयोजित गरिएको बताए। उनले सिङ्गल यूज प्लास्टिकको हानिबारे उपस्थित विद्यार्थीहरूलाई जानकारी गराउॅंदै विद्यार्थीहरू पनि यसको प्रयोगबाट बाच्नुपर्छ भनी बताए।

यस अघि विभागकी अतिरिक्त सचिव एवं अम्रूत २.० की नोडल अफिसर बन्दना राईले अम्रुत २.० माथि संक्षिप्तमा जानकारी दिएकी थिइन्। कार्यक्रम अवधि मुख्य अतिथि तथा अन्य आमन्त्रित अतिथिहरूले सेलेप ट्याङ्की परिसरमा विरूवा लगाए। यस अभियानमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी बनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement