जलपाइगढी। तृणमूल श्रमिक यूनियन आइएनटीटीयूसीका पूर्व अध्यक्ष राजेश लाकडा उर्फ टाइगरलाई पार्टीबाट हटाएपछि नवनिर्वाचित जलपाइगढी जिल्ला आइएनटीटीयूसीका अध्यक्ष तपन रायलाई पार्टी समर्थकहरुले भव्य स्वागत गरेका छन्। उक्त स्वागत समारोहमा डाबग्राम-फुलबारी तृणमूल ब्लक अध्यक्ष सुकान्त गढ सहित ठूलो संख्यामा समर्थकहरू उपस्थित थिए। उल्लेखनीय छ, आइएनटीटीयूसीका पूर्व अध्यक्ष राजेश लाकडा उर्फ टाइगरले पार्टीबाट नै राजीनामा दिएका छन्। लोकसभा चुनाउ अघि सोमबार तृणमूल कंग्रेस जिल्ला ट्रेड युनियन अध्यक्षहरूको सूची जारी गरिएको थियो। जसमा राजेश लाकडालाई आइएनटीटीयूसीका जिल्ला अध्यक्ष पदबाट हटाइएको छ। जलपाइगढी जिल्लाको राजगञ्जका तपन रायलाई आइएनटीटीयूसीका नयाँ अध्यक्ष नियुक्त गरिएको छ। सोमबार तपन रायलाई अध्यक्ष बनाएपछि धेरै तृणमूल कार्यकर्ता उत्साहित भएका थिए। राती फुलबारी तृणमूल ब्लक अध्यक्ष सुकान्त गढ उनको स्वागत गर्न उनको घर पुगे। स्वागत समारोहपछि सुकान्त गढले तपन रायले मजदुर संघका लागि लामो समयदेखि संघर्ष गर्दै आएकाले सोही आधारमा आज जिल्ला अध्यक्षमा नियुक्त भएको बताए।

यसै क्रममा राजेश लाकडाले पद गुमाएपछि आक्रोशित हुँदै पार्टी छाड्ने घोषणा गरेका छन्।
राजेश लाकडाले सोमबार पत्रकार सम्मेलन गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। तर, नयाँ अध्यक्ष तपन रायले राजेशले पार्टी छोडेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। तर आगामी लोकसभा चुनाउ आदिवासी खेमाका नेताले पार्टी छाडेकाले यसबाट तृणमूललाई केही क्षति हुने हो कि भनेर प्रश्न उठिरहेको छ।