मेरो समय पूरा भए जस्तो लागेको थियोः रिषभ पन्त

IMG-20240130-WA0142.jpg

नयाँ दिल्ली, ३० जनवरीः भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याटर रिषभ पन्तलाई कार दुर्घटनाग्रस्त हुँदा उनको समय पूरा भएको जस्तो अनुभव भएको थियो। साल २०२२-को ३० दिसम्बरमा बिहान आफ्नो गृहनगर रुड़की जाँदा उनको मर्सिडीज गाड़ी डिवाइडरमा ठोक्किएको थियो। शरीरभरि चोट लागे पनि पन्त जसोतसो कारबाट बाहिर निस्किएका थिए। त्यसपछि उनको कार जलेर खरानी भएको थियो। कार डिवाइडरमा ठोक्किएर पल्टिँदा पन्तलाई यस संसारमा उनको समय समाप्त भएको अनुभव भएको थियो। भयावह दुर्घटनाबारे पहिलोपल्ट खुलेर कुरा गर्दै पन्तले कारमा आगो लागेको देखेर उनलाई मृत्यु नजिकै रहेको अनुभव भएको बताए। दुर्घटनामा पन्तको दाहिने खुट्टाको लिगामेण्ट च्यातिएको थियो। यसबाहेक उनको शीर र पूरा शरीरमा चोट लागेको थियो। अनुहारको घाउको निशानलाई मेटाउन उनले प्लास्टिक सर्जरी पनि गरेका थिए। त्यस भयावह दुर्घटनापछि २६ वर्षीय क्रिकेटर खेलदेखि टाढ़ा रहेका छन्।
स्टार स्पोर्ट्ससँग कुराकानीको क्रममा पन्तले भने, त्यस समय (दुर्घटना भएको बेला) जीवनमा पहिलोपल्ट मलाई संसारमा मेरो समय समाप्त भएको जस्तो लागेको थियो। दुर्घटनाको समय मलाई शरीरमा लागेको चोटहरूबारे थाहा थियो तर म भाग्यशाली थिएँ कारण चोटहरू अझ गम्भीर हुन सक्ने थियो। मलाई कसैले मलाई बचाएको जस्तो लाग्यो। मलाई निको हुन कति समय लाग्नेछ भनेर मैले डाक्टरलाई प्रश्न गरेको थिएँ। उनले मलाई १६-देखि १८ महिना समय लाग्ने बताएका थिए। चोटमुक्त हुने समयलाई कम्ती गर्न कठिन मेहनत गर्नु जरूरी रहेको मलाई लागेको थियो।
उल्लेखनीय छ, दुर्घटनाको एक सालपछि पन्त अहिले चोटहरूबाट मुक्त भइसकेका छन् अनि चाँड़ै मैदानमा फर्किने तयारी गरिरहेका छन्। पहिला उनले भारत र वेष्ट इण्डिजबीच सीरीजमा हिस्सा लिने आशा रहेको थियो तर रिकवरीको प्रक्रिया धीमा हुँदा अब उनलाई सीधै आईपीएलको अवधि मैदानमा देखिनेछ। गत दिसम्बर महिना भएको आईपीएलको लिलामीमा पन्तलाई दिल्ली क्यापिटल्सको टेबलमा बसेर बोली लगाइरहेको देखिएको थियो। पन्तको अनुपस्थितिमा आईपीएलको गत सीजनमा दिल्ली क्यापिटल्सको प्रदर्शन स्तरीय रहेन तर यसपाली कप्तानको आगमनपछि टीमले असल प्रदर्शन गर्ने प्रशंसकहरूलाई आशा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *