गान्तोकः सिक्किम प्रदेश कङ्ग्रेस कमिटीले पनि आरोपी राज्य सरकारका मुख्य सचिव एससी गुप्ता विरुद्ध भइरहेको जाँचको सार्वजनिक स्पष्टीकरणको माग गरेको छ। यदि मुख्यमन्त्री पीएस गोलेले भने जस्तै राज्य सरकारको सतर्कता विभागले भ्रष्टाचारको आरोपमा मुख्य सचिव विरुद्ध जाँच शुरु गरेको हो भने विभागले यस बारे स्पष्टीकरण दिनुपर्ने सिक्किम प्रदेश कङ्ग्रेस अध्यक्ष गोपाल छेत्रीको भनाइ रहेको छ। अर्कोतिर जोइन्ट एक्शन कमिटीले अधिबाटै यो माग गरेको तर विभागबाट कुनै प्रतिक्रिया नाएआएकोमा भने उनले सतर्कता विभागले जाँच शुरु गरेको मुख्यमन्त्रीको दावीमा शङ्का पनि जाहेर गरेका छन्।
विपक्षी राजनीतिक पार्टीका कार्यकर्ता एवं सर्वसाधरण विरुद्ध सा-साना मुद्दामा पनि हतार हतार कार्यवाही गर्ने सरकारले यति गम्भीर मामिलामा किन स्पष्टीकरण दिँदैन भन्ने प्रश्नको साथ चाड़ोभन्दा चाँड़ो स्वेत पत्र जारी गर्नुपर्ने छेत्रीले माग गरेका छन्। कथित एससी गुप्ता काण्डमा सरकारको वर्तावले कतै त्यस धाँधलीमा सरकारको पनि भागिदारी त छैन भन्ने पनि उनले प्रश्न उठाएका छन्। सधैं जस्तै यसपल्ट पनि प्रदेश कङ्ग्रेस अध्यक्ष चिर प्रतिद्वन्द्वी भारतीय जनता पार्टीमाथि निशाना साँध्न चुकेनन्। एकातिर राज्यमा गठवन्धन सरकारको घटक दल बताउने भाजपाले अर्कोतिर सत्ता नै अन्तिम लक्ष्य भन्ने बयान दिएर कुनै पनि समय देशका अन्य प्रान्तहरूम जस्तै सिक्किममा पनि जनमत पाएको एसकेएम सरकारलाई पल्टाएर सत्ता हत्याउन सक्ने गोपाल छेत्रीले बताए। सिक्किममा पनि चोर दैलोबाट सरकारमा पुग्ने भारतीय जनता पार्टीको कोशिश रहेको उनले दावी गरेका छन्। यो कुरा एसकेएम सरकारलाई पनि ज्ञात भएको त्यसैले केन्द्रमा भाजपा सरकारको अलिक बेसी नै तेल मालिस गरिरहेको उनले बताए।
पत्रकारहरूसित कुराकानी गर्दै गोपाल छेत्रीले सत्तारुढ़ एसकेएम पार्टीमा सामेल हुने तथा सत्तारुढ़ पार्टीको सम्पर्कमा रहेका पूर्व विधायकहरूको पनि कड़ा शब्दमा खोइरो खने। २५ वर्षसम्म सत्ताभोग गरेर अहिले त्यस समय प्रजातन्त्र थिएन भन्दै फेरि सत्ताको सुख खोज्दै सत्तारुढ़ पार्टीमा सामेल हुने पूर्व विधायकहरूले कहिल्यै पनि सिक्किमे जनताको भलो नचाहने उनले बताए। विधायकहरूलाई नपुङ्सकको संज्ञा दिन पनि उनी पछि परेनन्। यसको साथै उनले एसकेएम पार्टीका कर्मठ कार्यकर्ताहरूलाई त्यस्ता स्वार्थी नेताहरूसित सतर्क रहने सुझाउ पनि दिएका छन्।