सयपत्री संघ सालबारीद्वारा शब्द समय सालबारीलाई अभिनन्दनसितै शब्द समयको १२६औं प्रकरण सम्पन्न

IMG-20240129-WA0176.jpg

खरसाङ: सालबारी सयपत्री संघले सालबारी बजारस्थित आफ्नो नीजि भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी सालबारी शब्द समयले १२६औं प्रकरण सफलतापूर्वक सम्पन्न गरेको उपलक्ष्यमा शनिबार एक विशेष कार्यक्रम आयोजना गरी भव्य रूपले सम्बर्द्धना जनाएको छ। यस अवसरमा सयपत्री संघद्वारा शब्द समयका सदस्यहरूलाई खदा पहिराएर सम्मान जनाइयो भने शब्द समयलाई अभिनन्दन पत्रद्वारा कदर गरियो। यो अभिनन्दन कार्यक्रमलाई सयपत्री संघकी अध्यक्षा मुन्ना छेत्रीले अध्यक्षता गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा उपस्थित थिए शब्द समयका संस्थापक सदस्य कवि ज्ञानेन्द्र खतिवड़ा। दीप प्रज्ज्वलनसित आरम्भ भएको समारोहमा सयपत्री संघका वरिष्ठ पदाधिकारी उत्तम थापाद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्बोधन उनैले राखेका थिए। उनले यो सम्बर्द्धना कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारे। उनले सालबारीमा साहित्यिक माहौल तयार गर्नु साथै यहाँका युवा र नानीहरूलाई सकारात्मक अनि सिर्जनशील कार्यहरूतर्फ संलग्न गराउनमा शब्द समयको अहम् भूमिका रहेको छ। शब्द समयले सालबारीको नाम सुवास गरेको छ। यसै महत कार्यलाई कदर गर्दै आजको यो सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको हो। आफ्नो उदबोधनी सम्बोधनमा शब्द समयका संस्थापक सदस्य एंव वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ाले भने, ‘हामी सालबारी सयपत्री संघसित विशेष रूपले धन्यवादी छौं। सयपत्री संघको काखमा हुर्केको साहित्यिक समूह हो शब्द समय। शब्द समयका प्रकरणहरू सम्पन्न गर्न प्रत्येक महिना संघले हामीलाई आफ्नो भवन उपलब्ध गराएर ठूलो गुण लगाएका छन् जसलाई कसै गरी बिर्सन सकिने होइन। उसमाथि आज यति ठूलो छट्टै समारोह नै आयोजना गरी सम्मान जनाउनु भएको छ। हामी शब्द समयका हरेक सदस्य हृदयले धन्यवादी छौं।’
कार्यक्रममा संघका नानीहरूद्वारा नृत्य प्रस्तुतिसितै कविता वाचन गरे। सर्जक रजनी शर्माको कविताले श्रोता-दर्शक मन्त्रमुग्ध बनेका थिए। यसैबीच शब्द समयको १२६औं प्रकरण आरम्भ भयो। पत्रकार शैलेन्द्र समदर्शीद्वारा सञ्चालित कार्यक्रममा शब्द समयको पक्षबाट सयपत्री संघकी अध्यक्षा अनि सचिवलाई खदा पहिर्याएर सम्पूर्ण सयपत्री संघलाई सम्मान जनाउँदै कृतज्ञता प्रकट गरियो। शब्द समयको यस प्रकरणमा पनि बीज भाषण प्रस्तुत गरे उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापक डा सञ्जय वान्तवाले। आफ्नो सम्भाषण राख्दै उनले सामाजिक विकासमा सङ्घ संस्थाहरूको भूमिकामाथि गहन कुराहरू राखे। उनले भने, शब्द समयले १२६औं प्रकरण आइपुग्दा यसरी अभिनन्दित हुन पाउनु यसले समाजको माया र मान्यता पाउनु हो। उनले भने, भाषा-साहित्यले समाजको विकास निर्धारित गर्दछ। उनी समाज र साहित्यको विकासमा विभिन्न संघ संस्थानहरूले खेलेका भूमिकाहरूको उल्लेख गरिरहेका थिए। उनले भने, सालबारी अहिले भाषा साहित्यको निम्ति क्रियाशील स्थान भएको छ। उनले सालबारी सयपत्री संघको आजको यो पहललाई मुग्धकण्ठले प्रशंसा गरे अनि हृदयले धन्यवाद दिए। यस अवसरमा वरिष्ठ कवि मोहन ठकुरीले कवि सञ्जय बान्तवाद्वारा लिखित अनि आफूलाई अति नै मन परेको उत्तरआधुनिक गाउँमा शीर्षकको कविता वाचन गरे सुनाए भने वरिष्ठ कवि कथाकार भविलाल लामिछाने, चलचित्र अभिनेता तथा वरिष्ठ नाट्यकर्मी टंक शर्मा, कवि मणिका प्रधान, वरिष्ठ कवि निर्मल सिन्चुरी, कवि गंगा प्रधान,
कवि पूर्ण मंगर आदिले कविता पठन गरेका थिए। वरिष्ठ आख्यानकार मणिकुमार प्रधान कथा वाचन गरे भने कवि राजेन्द्र पासा र कवि कविता अधिकारीले मुक्तक वाचन गरेका थिए। वरिष्ठ कथाकार-अनुवादक जीतबहादुर सुनारले यस अवसरमा एक लघु कथा वाचन गरेर सुनाए भने कप्तान महेश कुमार सुब्बाले वाचन गरे कविता कविसितको अन्तर्वार्ता। कवि कृष्ण प्रधान अर्पणले आफ्नो लघु रचना सुनाए भने साहित्यकार प्रकाशमणि प्रधानले लघुकथा सुनाए। यस अवसरमा शब्द समयका संयोजक कालूसिंह रनपहेंलीले धन्यवाद ज्ञापन गरेका थिए। उनले आज विशेष आयोजना गरेर शब्द समयलाई सम्मान जनाउने कार्य गरेकोमा सयपत्री संघप्रति धन्यवादसित कृतक्षता जनाए। उनले आजको शब्द समयमा सहभागी सबै सर्जकहरूलाई पनि धन्यवाद दिए। यस अवसरमा अध्यक्षीय सम्बोधन राख्दै संघकी अध्यक्षा मुन्ना छेत्रीले आजको यो भव्य कार्यक्रम आयोजना गर्न पाएकोमा अपार खुशी व्यक्त गरिन्। समारोहमा वरिष्ठ साहित्यकार-राजनैतिक चिन्तक डीएस.बम्जन, सिलगगढ़ी देवकोटा संघका अध्यक्ष विशिष्ट समाजसेवी मिलन रूचाल, सिलगढ़ी देवकोटा संघका मूल सचिव वरिष्ठ कथाकार पीटी योल्मो, देवकोटा संघका साहित्य सचिव श्याम प्रधान, कथाकार-चित्रकार सुभाष छेत्री, कवि समाजसेवी हेमन्त काफ्ले, गजलगो-कवि समीर शर्मा, सयपत्री संघका सक्रीय कार्यकर्ता उत्तम सुब्बा, दिलीप छेत्री, भीम थापासितै देवी छेत्री, मीनू श्रेष्ठ, रजनी शर्मा, सुदेश राय, रब्री मेच, गंगा प्रसाद मैनाली, बी.एस. राणा, वरिष्ठ समाजसेवी सूबोध पाख्रीन आदिको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *