राजनीतिको क्षेत्रमा अतुलनीय योगदान दिने तादोङ समष्टिका १७ जना संवर्द्धित

n5782346901706452957739c84a2b24829858c6e618015b68cd69ade3dc9b6fb14ba1d1057070bc949b3d3c.jpg

२०२४ मा एसकेएमको जीत निश्चित छः जीटी ढुङ्गेल

गान्तोक: आगामी विधानसभा चुनाउमा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको जीत निश्चित रहेको अप्पर तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले दाबी गरेका छन्।

कुनै पनि निर्वाचन क्षेत्रको सर्वाङ्गीण विकासका लागि नेतृत्वमा इच्छाशक्ति हुनुपर्ने र राजनीतिक इच्छाशक्तिले समाजमा सकारात्मक परिवर्तन आउने विधायक ढुङ्गेलले बताए।

आइतवार तादोङस्थित 5 माइलमा सम्पन्न नागरिक सेवा अभिनन्दन समारोहलाई सम्बोधन गर्दै विधायक ढुङ्गेलले भने, “मुख्यमन्त्री पीएस गोलेको दूरदर्शी नेतृत्वका कारण अप्पर तादोङ निर्वाचन क्षेत्र मात्रै नभएर सम्पूर्ण सिक्किमको कायापलट भएको छ। म आफैलाई कहिल्यै राजनेता मान्दिनँ किनभने म जनताको सेवा हुँ। म मुख्यमन्त्री र जनताबीचको साँघु मात्रै हुँ। कुनै पनि पदमा मानिस सदैवका लागि कहिल्यै बस्न सक्दैनन्, यो प्रकृतिको नियम हो। मैले पनि यो पद एक न एक दिन छोड्नुपर्छ। जनताको हितलाई शिरोपर गर्दै कल्याणकारी काम गर्ने नेतृत्वले भोलिको दिन मेरो स्थानमा कमान सम्हाले मलाई समस्या छैन किनभने म स्वयं सत्तामा टिकिरहनु भन्दा पनि पार्टी बाँचिरहनु ठूलो कुरा हो जस्तो लाग्छ।”

राजनीति जनताको निम्ति काम गर्ने शीर्ष मञ्च रहेको बताउँदै विधायक ढुङ्गेलले भने, “नेतासित सेवकको भावना हुनुपर्छ। पूर्व विधायकहरूसित सेवकको भावना रहेकोले तादोङ समष्टि यस स्तरसम्म पुगेको छ। मलाई मेरा पार्षद्हरूले धेरै सहयोग दिएका छन्। सहयोगी पार्षद् छन् भने कि त जितिन्छ, कि चाहिँ सिकिन्छ। म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। हामीले तादोङका जनतालाई पिउने पानीको समस्या हुन नदिन अथक प्रयास गरिरहेका छौँ। यहाँका जनताको सुविधालाई ध्यानमा राख्दै फ्लाइओभरलगायत अन्य पूर्वाधारहरूमाथि काम गर्दैछौँ।”

उनले युवाहरू नै समाजका कर्णधार रहेको बताउँदै उनीहरूलाई सामाजिक रूपमा जोड्नुपर्ने र यसमा अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुने बताए। उनले आगामी चुनाउमा सबैसित समर्थन र साथको अपेक्षा पनि राखे। विधायक ढुङ्गेलले अभिनन्दन कार्यक्रमले सकारात्मक ऊर्जा भर्ने र आज पूर्वमन्त्री, पूर्व विधायक, पूर्व पार्षद्, पूर्व पञ्चायतलाई सम्मान जनाउन पाउँदा आफैलाई सम्मानित महसुस भएको बताए।

पूर्वमन्त्री मेन्लम लेप्चाले विधायक, मन्त्रीहरू निश्चित समयका लागि पदमा रहने तर एक नेताले सदैव सही दिशा र मार्गदर्शन गर्ने तथा विधायक ढुङ्गेल पनि एक त्यस्ता दूरदर्शी नेता रहेको बताए। उनले आजको कार्यक्रममा आफू सम्मानित हुन पाउँदा ऊर्जावान महसुस गरेको बताए। कार्यक्रमलाई पूर्व विधायक तिमोथी डब्ल्यू बस्नेतले पनि सम्बोधन गरेका थिए।

विधायक ढुङ्गेलको परिकल्पनामा सम्पन्न नागरिक सेवा अभिनन्दन समारोहमा पूर्वमन्त्री, पूर्व विधायक, वरिष्ठ राजनीतिक, पूर्व पञ्चायत, पूर्व पार्षद् गरी कुल १७ जनालाई संवर्द्धना जनाइयो। कार्यक्रममा विधायकका सल्लाहकार तथा विस्फोट पत्रिकाका सम्पादक किरण छेत्रीले कार्यक्रम सञ्चालन गर्ने क्रममा पूर्व विधायकहरूले गरेका विकासमूलक कार्यहरूमाथि सबैको ध्यानाकर्षण गराए। सीएलसी अध्यक्ष एसपी भोटियाले स्वागत भाषण राखेको कार्यक्रममा पूर्व पार्षद् गीता तिवारीले धन्यवाद ज्ञापन गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *